Logo

विपीको सिद्धान्त अनुसार कांग्रेस नचलेको भन्दै चिन्ता व्यक्त



काठमाडौं, २४ भदौ । नेपाली काँग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले विपिको सिद्धान्त अनुसार नेपाली काँग्रेस अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरेको छ।

शनिबार १०४ औं वि.पी. जन्मजयन्तीको अवसरमा आयोजित ‘विपीको व्यक्तित्व, लोकतान्त्रिक समाजवाद र आजको संगठन विषयक’ विचारगोष्ठीमा बोल्दै प्रमुख अतिथि भौतिक योजना तथा यातायात राज्यमन्त्री सिता गुरुङले विपीले अघि सारेका वा प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गरी आम नेपाली अघि बढ्नुपर्नेमा जोड दिईन् ।

मन्त्री गुरुङ्ले बिपीले योजना बनाउँदा जहिले पनि गरिब र विपन्न समुदायका वर्गलाई केन्द्रमा राखेर बनाएको चर्चा गर्दै ती योजना हामी अनुयायीहरुले पालना गर्नुपर्ने बताईन् ।

काँग्रेसको राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा उनले बताईन् । राजनीतिक स्वतन्त्रताको बिपीको लडाइ काँग्रेसले कहिल्यै भूल्न नहुने गुङ्को भनाई थियो । त्यस्तै उनले बिपीको विचारलाई आत्मसाथ गर्न आदर्श भन्दा व्यावहारिक प्रयोगमा ल्याउनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, निवर्तमान सभापति कृष्ण कोइराला, पूर्व सभापति शंकरकान्त जोशी, तुलसीनारायण श्रेष्ठ, क्षेत्रीय सभापति वृषराज गुरुङलगायतले काँग्रेस नेतृत्वले बिपीको विचार आत्मसाथ गर्न नसक्दा पार्टी विचलनमा पुग्न लागेको धारणा व्यक्त गर्नुभयो ।

रिपोर्टर्स क्लब नेपालमा समितिका सभापति भीम थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समितिका वरिष्ठ उपसभापति रुद्र राईले नेपाली काँग्रेसको अवस्था आईसियूमा राखेको बिरामीजस्तो भएको गुनासो पोखे ।

उनले भने,‘पछिल्लो समयमा नेपाली काँग्रेसले राम्रा काम भन्दा पनि अल्लारे पारामा नेतृत्वले काँग्रेसलाई अघि बढाईरहेको छ, यस्तो पाराले काँग्रेसका समर्थक र चिन्तकहरुको भबिष्य अन्धकार हुनेछ।’

नेपाली काँग्रेसका यूवा नेता एवम् सांसद मनोहर नारायण श्रेष्ठले पार्टीको नेतृत्वको बारेमा फरक विचार राख्नेलाई शत्रुको दृष्ट्रिले हेर्न नहुने धारणा राखे ।
त्यस्तै धनकुटा जिल्ला कार्यसमिति सभापति अग्निप्रसाद पौडेलले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागि वर्तमान समयमा भईरहेका गल्तिहरुको समिक्षा गर्दै पार्टीलाई अघि बढाउनको लागि नेतृत्वलाई आग्रह गरे ।

पूर्व जिल्ला सभापति हरि अधिकारी र सल्लाहकार समितिका संयोजक अजितनारायण सिँह थापाले नेपाली काँग्रेसको ईतिहासमा वर्तमान नेतृत्व चुकेको टिप्पणी गरे ।

कार्यक्रममा समितिका सल्लाहकार सदस्य रेवति दाहाल, समितिका सचिव विजय सन्तोसी राई, सदस्य निर्मल ओझा लगायतले विपीको बारेमा र नेपाली काँग्रेसको बारेमा आफ्ना धारणाहरु राखका थिए ।



प्रतिक्रिया दिनुहोस्