Logo

धुर्मुस सुन्तली फाउण्डेशनलाई क्यानडा बासीद्धारा १० प्रदान



काठमाडौं, २५ भदौ । तराईमा बाढीका कारण पिडित बनेका तराई बासीहरुका लागि एकीकृत नमुना बस्ती निर्माणका लागि सहयोग जुटाउन क्यानडा पुगेका चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घिमिरे‘सुन्तली’ लाई क्यानडाको क्यालगेरीमा डाँफे स्पोर्टस क्लब र क्यालगोरीका युवाहरुको सक्रियतामा १० लाख रुपैया नगद सहित सम्मान गरिएको छ ।

सामाजिक अभियान्ता बन्दै दुखी, पिडित र असाहायहरुका लागि निरन्तर सामाजिक काममा सक्रिय रहेको भन्दै धुर्मुस सुन्तलीलाई उक्त सम्मान गरिएको हो ।

क्यानडाको क्यालगेरीमा रहेको मंगोलियन ब्याङ्क्वेटमा आयोजना गरिएको कार्यक्रममा धुर्मुस सुन्तलीलाई डाँफे स्पोर्टस क्लब र क्यालगेरीमा बसोवास गर्ने युवाहरुको संयुक्त प्रयासमा उक्त सम्मान गरिएको हो ।

धुर्मुस सुन्तलीले गरेका सामाजिक कामहरुको प्रशंसा गदैं आयोजक डाँफे स्पोर्टस क्लबले कार्यक्रम स्थलमा बाढी पिडितका लागि निर्माण गर्न लागिएको एकीकृत नमुना बस्तीका लागि डोनेशन बक्स समेत राखेको थियो ।

उक्त डोनेशन बक्सबाट ४ हजार ४ सय २३ डलर सहयोग संकलन भएको र कार्यक्रमबाटै नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगेरीले ५ हजार डलर, किराँत याक्थुम चाम्लुङ्गले ७ सय डलर, याक्थुम चुम्लुङ्गले ५ सय डलर, डाँफे स्पनेर्टस क्लबले १ हजार डलर र स्थानिय म्युजिकल ब्याण्ड यात्री ब्याण्डले ३ सय डलर सहयोग प्रदान गरेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिएका छन् ।

क्यालगेरीमा आयोजना भएको कार्यक्रमको सहयोगी संस्थाहरुमा नेपलिज कम्युनिटी सेसाईटी अफ क्यालगेरी, सि.एन.सी.ए. क्यालगेरी र किँरात याक्थुम चाम्लुङ्ग रहेका थिए ।

बाढी पिडित तथा नमुना नेपालको सहयोगार्थ सहयोग संकलनका लागि क्यानडा पुगेका धुर्मुस सुन्तलीलाई कार्यक्रम सकिएपछि करिब १ घण्टा भन्दा बढी दर्शकहरुले फोटो खिच्नमै ब्यस्त बनाएका थिए ।

६ सय सिट क्षमता भएको हलमा ८ सय भन्दा बढी दर्शकको उपस्थित रहेको आयोजकले बताएको छ । उता दर्शकहरुको उत्साहजनक उपस्थिती र मायाले धुर्मुस निकै खुसी र भावुक समेत बने ।

उनले टेलिफोन सम्पर्कमा क्यानडामा रहेका नेपालीहरुको उपस्थिती हेर्दा धेरै भन्दा धेरै सहयोग संकलन हुने बिश्वास लिएको र बाढी पिडितहरुका लागि बन्ने एकीकृत नमुना बस्ती बन्नको लागि सहज हुने समेत बताए ।

‘हामीले क्यानडाबाट केही सहयोग संकलन गर्ने भन्ने सोचेका थियौं, तर यहाँ दर्शकको उपस्थितीले झनै ठुलो आशा दिएको छ’ फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेले भनिन् ‘क्यानडाको क्यालगेरीमा रहनुभएका नेपालीहरुको माया र साथले सामाजिक कामका लागि झनै ठुलो उर्जा मिलेको छ ।’

आज सम्पन्न कार्यक्रममा धुर्मुस सुन्तली संगैं अमेरिकामा रहेकि गायिका नलिना चित्रकारले समेत प्रस्तुती दिएकि थिईन् । आजको कार्यक्रम संगैं धुर्मुस सुन्तली अब लगातार क्यानडाको एममन्टन र टोरन्टोमा हुने धुर्मुस सुन्तली साँझका लागि त्यसतर्फ जानेछन् ।



प्रतिक्रिया दिनुहोस्