Logo

क्यान्सर काउन्सिल नेपालद्धारा क्यान्सरसम्बन्धी एक दिवसीय बृहत्त जनचेतनामुलक कार्यक्रम सम्पन्न



काठमाडौं, २५ भदौ । क्यान्सर काउन्सिल नेपालको आयोजनामा आज ललितपुरको लिटिल एन्जल्स् स्कुलमा ‘क्यान्सर तथा मुटु रोगको बारेमा’ एक दिवसीय अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार ललितपुरको हात्तिवनस्थित् स्कुलको एक हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मीद्धारा नेपालमा नसर्ने रोगहरुको प्रमुख कारण नै सूर्तीजन्य पर्दाथको सेवन, आधुनिक किसिमको जीवनशैली, अस्वस्थकर खानपान र पर्याप्त शारिरिक व्यायामको अभाव रहेको बताए ।

डा. रेग्मीका अनुसार सुर्तीजन्य पर्दाथलाई मात्रै रोकथाम गर्न सकेमा नेपालमा ५० प्रतिशत उपचार खर्चमा कमी आउने र स्वस्थ समाज निर्माणको लागि टेवा पुग्नेछन् । उनले थपे,‘विद्यालयस्तरबाट नै विद्यार्थीहरुलाई सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन भनेर सचेत गराउनुपर्छ, त्यस्तै सन्तुलित भोजन सेवन र नियमित शारिरिक व्यायाम गर्नुपर्छ, तर हामीहरु अहिले यी सबै कुराहरुलाई बिर्सिएर आधुनिक जीवनशैली अपनाईरहेका छौं, असहज रुपमा मोटोपन नै मानव जीवनको लागि अभिषापसिद्ध भएको छ ।’

काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै डा. रेग्मीले यस्ता खाले जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनले थपे,‘विकसित देशहरुमा जनचेतना कै कारण मानिसहरु स्वस्थ जीनवशैलीप्रति सचेत छन्, तर हाम्रो जस्तो देशमा यी कुराहरुलाई सामान्य रुपमा लिईन्छ, त्यसैले गर्दा स्वास्थ्यसम्बन्धी जटिल समस्याहरु हामीहरु भोग्न बाध्य भएका छौं, अब क्यान्सर काउन्सिलले यस्ता खाले कार्यक्रमहरुलाई देशव्यापी रुपमा लैजानुपर्छ, अझ भन्ने हो भने विद्यालयस्तरमा त झनै यसको धेरै महत्व छ।’

कार्यक्रममा उक्त स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले पनि आफ्ना विद्यार्थीहरुलाई सचेतना गराउने उद्देश्यले काउन्सिलले यस्तो कार्यक्रम गरेर धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अन्य व्यक्तिहरु गरेर करिब ५ सय जनाको सहभागिता रहेको अध्यक्ष कडरियाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्