Logo

दरबारमार्गका व्यापारीले टेरेनन् मन्त्रीको निर्देशन, बयान दिन आनाकानी, उल्टै कारबाही नगर्न दबाब



भदौ २६, काठमाण्डौ । नियम उल्लङ्घन गरेर चर्को मूल्यमा सामान बेच्ने दरबारमार्गका व्यापारीले सरकारी निकायमा बयान दिन जानसमेत आनाकानी गरेका छन् । व्यापारीहरु सरकारी निकायमा आएर बयान दिनुको सट्टा कारबाही फुकुवाको माग गर्दै उच्च अधिकारीहरूसँग हारगुहार गरिरहेका छन् । अनुगमन टोलीले तीन दिनभित्र कागजपत्रसहित बयानका लागि बोलाएको थियो ।

उपभोक्ता ठगी गरेको आरोप लागेका काठमाडौंको दरबारमार्गका व्यापारीहरूले सरकारी निकायमा आएर बयान दिनै आनाकानी गर्न थालेका छन् । बढी मूल्य लिएर उपभोक्ता ठगी गरेको आरोपमा आपूर्तिमन्त्री शिवकुमार मण्डलसहितको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग नेतृत्वको टोलीले दरबारमार्गका पसलमा शिलबन्दी गरे पनि व्यापारीहरू बयान दिन नगएका हुन् ।

उनीहरू सरकारी निकायमा आएर बयान दिनुको सट्टा कारबाही फुकुवाको माग गर्दै उच्च अधिकारीहरूसँग हारगुहार गरिरहेका छन् । अनुगमन टोलीले तीन दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन व्यवसायीलाई निर्देशन दिए पनि अहिलेसम्म सबै व्यापारी नआएको विभागले जानकारी दिएको छ । विभागले आइतबार सबै व्यवसायीलाई बयानका लागि अनिवार्य उपस्थित हुन निर्देशन दिए पनि सबै व्यवसायी गएनन् ।

अनुगमन भएपछि शिल गरिएका पसलका सञ्चालकसँग बयान लिएर आवश्यक अनुसन्धान गरेपछि कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।

व्यवसायी नै बयानका लागि तयार नहुँदा कारबाही प्रक्रियामा बाधा पुगेको छ । विभागले दरबारमार्गमा बढी मूल्य लिएको फेला परेपछि अघिल्लो हप्ताको सोमबार र बुधबार गरी जुत्ता, घडी, कपडाका गरी ११ वटा पसलमा सिल गरेको थियो । व्यवसायी बयान दिन नआई कारबाही फुकुवा गराउनका लागि अर्थमन्त्री, आपूर्तिमन्त्रीदेखि नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग दबाब दिएका छन् ।

दरबारमार्गमा सञ्चालित ब्रान्डेड पसलले प्रचलित मूल्यभन्दा निकै बढी मूल्य राखेर ५० प्रतिशतभन्दा बढी छुट दिई सेलमा राखिएका सामानबाट उपभोक्तालाई सिधै ठगी गर्ने गरेको पाइएको थियो । अनुगमन टोलीले दरबारमार्गमा रहेको पुमा, नाइके, बिन्टले र स्टोर वानमा अनुगमन गरेको थियो ।

त्यस क्रममा अधिकांश व्यवसायीले ११ गुणासम्म मूल्य लिएको पाइएको हो । उच्च मुनाफा राखी कालोबजारी गर्ने ती पसलमा सिलबन्दी गरिएको थियो । यस्तै विभागका अनुसार रिबुक ब्रान्डका जुत्ता, टिसर्ट र लिवाइज ब्रान्डको जिन्सको पाइन्ट बिक्री गर्ने दरबारमार्गको लेबल्स स्टोर प्रालि, बोसनी ब्रान्डको टिर्सट बिक्री गर्ने लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालि, राडो ब्रान्डको घडी बिक्री गर्ने सुलक्स सेन्टर र घडी स्टोर वाच एन्ड सी पसलमा पनि सिल गरिएको छ । तर, व्यवसायीले भने सरकारी अनुगमनको विरोध गर्दै दरबारमार्गका पसल बन्द गरेका छन् ।

एकातिर चर्को मूल्यमा सामान बेच्ने अर्कोतिर बयानका लागि नजाने, यो प्रवृत्तिका कारण दरमारमार्गका व्यापारी दोहोरो कारबाहीमा पर्ने सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्