Logo

इटहरी उपमहानगरमा काँग्रेसको ज्ञापनपत्र



इटहरी, ३१ भदौ । नेपाली काँग्रेसलगायतका राजनीतिक दलहरुले शुक्रबार इटहरी उपमहानगरपालिकाले नगरपरिषद् गर्नु पूर्व बजेट तयारी गर्दा भएका त्रुटि वा भेदभावको विषयलाई लिएर प्रमुख र उपप्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

नेपाली काँग्रेसका नगर सभापति हेमकर्ण पौडेलसहितका नेताले उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमसमक्ष पाँचबुँदे ज्ञापन बुझाउँदै विकास एवं सार्वजनिक सरोकारका विषयमा विभेद नगर्न आग्रह गरेका छन् ।

सभापति पौडेलले प्रत्येक वडालाई विकासका हिसाबले समानताका आधारमा अघि बढाउने बजेट सिलिङ बढाउनुपर्ने तथा लक्षित समुदायका लागि तोकिएका बजेट लक्षित वर्गकै हितका पक्षमा लगाउनुपर्ने र बाढीपीडित समुदायको बसोबासको उचित व्यवस्थापनसँगै आपत्कालिन राहत उपलब्ध गराई उनीहरुप्रति उपमहानगरले उपलब्ध गर्नुपर्ने मानवीय सेवा भरपुर उपलब्ध गर्न पनि काँग्रेसले ज्ञापनपत्रमा माग गरेको छ ।

यसैगरी काँग्रेसले टेङ्ग्रा खोलाको पक्की फुटपाथ निर्माण कार्य तत्काल पूरा गराउन जोड दिनुपर्ने तथा इटहरीमा आवश्यक सार्वजनिक शौचालय निर्माणमा विशेष ध्यान दिई मुख्य राजमार्ग तथा सहायक राजमार्गका खाल्डा तत्काल मर्मत गर्ने विषयमा पनि उपमहानगरले पहल थाल्नुपर्ने कुरालाई ज्ञापनपत्रमा समेटेको छ ।

यसैगरी संघीय समाजवादी फोरम नेपालका इटहरी नगर अध्यक्ष राजकुमार गुरुङसहितको टोलीले पनि शुक्रबार नगर प्रमुख र उपप्रमुख समक्ष ज्ञापनपत्र बुझाउँदै नगरको शिक्षा स्वास्थ्य सामाजिक सांस्कृतिक एवं भूमि व्यवस्थापन भौतिक पूर्वाधार निर्माण एवं आर्थिक क्षेत्रको सवलीकरणमा जोड दिन ध्यानाकर्षण गरेको छ ।

उपमहानगरका प्रमुख चौधरीले आफूहरुले भरसक वडास्तरबाट छनोट भएर आएका योजनालाई विशेष प्राथमिकतामा राखेको र कसैलाई पनि विभेदको नीतिभन्दा बाहिर नराखेकाले समानताका आधारमा निर्वाचित पदाधिकारीले काम गरिरहेको अवगत गराउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्