Logo

ला लिगा फुटबलमा बार्सिलोनाको लगातार चौथो जित



 

काठमाडौं, १  असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार चौथो जित दर्ता गरेको छ । यो सिजनमा सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको बार्सिलोनाले शनिबार राति भएको खेलमा गेटाफेलाई २–१ ले हराएको हो ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन डेनिस स्वारेज र पाउलिन्होले एक एक गेल गरे । गेटाफेका लागि शिबासाकीले एक गोल गरे । ३९ औं मिनेटमा शिबासाकीको गोलबाट गेटाफेले सुरुवाति अग्रता लियो ।

पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाका लागि ६२ औं मिनेटमा डेनिसले बराबरी गोल फर्काए । ८४ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि बार्सिलोना २–१ ले विजयी भयो । चार खेलबाट १२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।

राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले मालागालाई १–० ले हरायो । एथ्लेटिकोको नयाँ रंगशालामा भएको खेलमा घरेलु टिमलाई जिताउन एन्टोनी ग्रिजम्यानले ६१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

चार खेलबाट ८ अंक जोडेको एथ्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । राति नै भएका अरु खेलमा रियल बेटिसले डिप्रोटिभो डि लाकोरुनालाई २–१ ले हरायो । भ्यालेन्सिया र लेभान्टेले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।



प्रतिक्रिया दिनुहोस्