Logo

एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित



काठमाडौं, २ असोज । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित हात पारेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ४-० को जित हात पारेको हो ।म्यान्युको जितमा एन्टोनियो भ्यालेन्सिया, हेनरिक एमखिर्तयान, रामेलु लुकाकु र एन्थोनी मार्सलले गोल गरे ।

जितपछि म्यान्युको ५ खेलबाट १३ अंक भएको छ । समान १३ अंक नै भए पनि म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ भने युनाइटेड दोस्रो स्थानमा छ ।

पाँच खेलबाट चार अंक जोडेको एभर्टन भने १८ औं स्थानमा झरेको छ । यसैगरी गएराति नै भएको अर्को खेलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् ।

साबिक विजेता चेल्सी घरेलु मैदानमा भएको खेलमा आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलको ८७ औं मिनेटमा रातो कार्ड खाँदै डेविड लुइज मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

पाँच खेलबाट १० अंक जोडेको चेल्सी तेस्रो स्थानमा कायम छ । सात अंक मात्रै जोडेको आर्सनल १२ औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्