Logo

प्रदेश ३ मुख्यमन्त्रीका दावेदार गगनको सक्रियता



 

काठमाडौं १० असोज । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले ३ नम्बर प्रदेशलाई केन्द्रमा राखेर चुनावी अभियान थालेका छन् । उनले नेपालीको महान् चाड बडादसैंको सदुपयोग गर्दै प्रदेश नम्बर ३ का कांग्रेस नेतासँग संवाद सुरु गरिसकेका छन् ।गगनले सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का नेता-कार्यकर्तासँग आफू प्रदेशसभा निर्वाचनमा आउन लागेको जनाउ दिँदै सहयोगका लागि अपिल पनि गर्न भ्याए ।
कमलादीस्थित प्रज्ञा भवनमा आयोजित भेलामा गगनले आसन्न प्रदेशसभाको निर्वाचनमा ३ नम्बर प्रदेशको नेतृत्व गरेर आफू चुनावी मैदानमा उत्रन लागेको खुलाए । दसैं शुभकामना आदानप्रदानको नाममा गगनको यो सक्रियतालाई कांग्रेसी नेता-कार्यकर्ताले ३ नम्बर प्रदेशका लागि निर्वाचन अभियान सुरु गरेको अर्थका रूपमा लिएका छन् । गगनलाई कांग्रेसभित्र ३ नम्बर प्रदेशको सम्भावित मुख्यमन्त्री दावेदारका रूपमा हेरिएको छ ।

उनले पार्टी नेतृत्वसमक्ष आफूलाई मुख्मन्त्रीका रूपमा अघि सारिए प्रदेशसभा निर्वाचनमा आउन तयार रहेको जनाउसमेत दिइसकेका छन् । गगन दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् । ३ नम्बर प्रदेशलाई एमालेको राम्रो पकड क्षेत्र मानिन्छ ।कांग्रेसले युवामाझ लोकप्रिय गगनलाई प्रदेशसभा निर्वाचनमा उतार्ने रणनीति बनाएको छ ।प्रज्ञा भवनमा आयोजित दसैं शुभकामना आदानप्रदान कार्यक्रममा गगनको निर्वाचन क्षेत्रसहित काठमाडौंका कांग्रेस नेता-कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
कांग्रेसले संघ र प्रदेश निर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली संकलन गर्ने प्रक्रिया अघि बढाएसँगै प्रदेशसभाका सम्भावित दाबेदारको सक्रियता पनि बढेको छ ।५ नम्बर प्रदेशको मुख्यमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गर्दै बालकृष्ण खाँड पनि प्रचारप्रसारमा खटिसकेका छन् ।

कांग्रेसले १३ गतेभित्र गाउँ स्तरबाट र १५ गतेभित्र क्षेत्र स्तरबाट तथा १७ गते जिल्लाबाट संघ र प्रदेश दुवैको उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाउन पत्राचार गरिसकेको छ ।
राजधानी काठमाडौंसहित ३ नम्बर प्रदेशमा सबैभदा बढी प्रदेशसभाको निर्वाचन क्षेत्र छ । ६६ निर्वाचन क्षेत्र भएको ३ नम्बर प्रदेशसहितका अन्य प्रदेशका लागि प्रमुख विपक्षी एमालेले समेत रणनीति बनाइरहेको छ ।
१७ असोजभित्र प्रदेश र संघ निर्वाचन उम्मेदवारको नामावली मागेको कांग्रेसले दसैंलगत्तै उम्मेदवार छान्ने जनाएको छ ।स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटमा ढिलाइ भएकै कारण अपेक्षाकृत परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको कांग्रेसले संघ र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार असोज अन्तिमसम्म टुंग्याउने रणनीति बनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्