प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले कुन–कुन पार्टीसँग गठबन्धन गर्दैछ ?


काठमाडौं, ११ असोज । स्थानीय तहको निर्वाचनका सबै चरण पूरा भएसँगै आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि प्रमुख राजनीतिक दल र यसका शीर्ष नेताहरु चुनावी तयारीमा केन्द्रित भएका छन् ।

चुनावमा राम्रो नतिजा ल्याउने तयारीस्वरुप दलहरुले गर्ने आन्तरिक बैठक र भेलामा संघ र प्रदेशको चुनावलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने विषयमा छलफल हुने बुझिएको छ । चुनावी तयारीमा प्रमुख दलहरुले गठबन्धन गर्नेबारेमा पनि विशेष छलफल अघि बढाएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमाझैं प्रदेशको निर्वाचनमा पनि तालमेल गर्ने निर्णय लिएको छ । हुन त पार्टीभित्र यो पटक एक्लै चुनाव लड्नुपर्छ भन्ने आवाज पनि बलियो बनेको छ।

तर, गठबन्धन सरकारमा रहेकोले चुनावी नतिजा आफ्नो पकडमा पार्न उसले माओवादी केन्द्र, संघीय समाजवादी फोरम लगायत अन्य दलहरुसँग सहकार्य गर्ने तयारी थालेको स्रोतले जनाएको छ।

यता कांग्रेसका प्रभावशाली नेता एवम् वर्तमान अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि अहिलेदेखि नै चुनावी रणनीति बनाउन व्यस्त छन् । चुनावमा कुन पार्टीसँग कसरी गठबन्धन बनाउने भन्नेबारे नेता कार्की सक्रिय भएर लागेको बुझिएको छ ।