Logo

उपल्लोफाँटबासी युवा जागे, क्लब गठन गर्दै विकासनिमार्णमा होमिने



असोज १६, काठमाण्डौ । तनहुँ जिल्ला बन्दिपुर गाउँपालिकास्थित वडा नम्बर १ उपल्लोफाँटका युवाहरुले क्लब गठन गरेका छन् । दशैँको अवसरमा युवाहरु गाउँमा भेला भएको मौका छोपी क्लब गठन गरिएको युवाहरुले बताएका छन् ।
उपल्लोफाँटमा नै रहेर गाउँको बारेमा विकासको योजना बुनिरहेका युवाहरु सुदिप पोख्रल, सन्तोष खत्री लगायतका युवाहरुको सक्रियतामा क्लब गठन गरिएको हो । गाउँमै रहेका युवाहरुको क्लब गठन गर्ने चाहनालाई राजधानी बसेर पत्रकारिता गर्दै आएका कमलमणि पोख्रेलको सक्रियता र समन्वयमा क्लब गठन गरिएको हो । नवगठित क्लबको नाम उपल्लोफाँट युवा क्लब राखिएको छ ।

क्लबको अध्यक्षमा सुदिप पोख्रेल, उपाध्यक्ष राजु घिमिरे, सचिव हेमबहादुर राना, सहसचिव सन्तोष खत्री, कोषाध्यक्ष सृजना ठकुरी रहेका छन् ।
सदस्यहरुमा भुवन अधिकारी, अनिता अधिकारी र भवानी पोख्रेल रहेका छन् ।
कार्यसमितिको बैठक तत्काल बसेर सल्लाहाकार सदस्य थप गर्ने क्लबका सहसचिव सन्तोष खत्रीले बताएका छन् । त्यस्तै बैठकपश्चात क्लब दर्ता प्रक्रिया पनि तत्काल सुरु गरिन अध्यक्ष सुदिप पोख्रेलले जानकारी दिएका छन् ।
पृथ्वी राजमार्गबाट करिब १ किलोमिटरको दुरीमा रहेको उपल्लोफाँटलाई आवश्यकता अनुसार विकास निर्माणका काम गरी गाउँको मुहार फेर्ने क्लबको मुख्य उद्देश्य रहेको अध्यक्ष पोख्रेलको भनाई छ ।

क्लब गठनका सम्बन्धमा सल्लाह दिदै अग्रजहरुले क्लब गठनको औचित्य पुष्टी गर्न सल्लाह दिएका छन् । उपल्लोफाँटको विकासमा सक्रिय रहँदै आएका कृष्ण खनालले क्लबलाई सही सदुपयोग गरी विकास निर्माणका काममा सक्रिय रहन सुझाब दिए । आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै खनालले भने, “क्लबलाई मागी खाने भाँडो नबनाई समाजले स्विकार गर्न सक्ने काम गर्न सक्नुपर्छ ।”
त्यस्तै जनता मार्गका अध्यक्ष हरी (भाष्कर) न्यौपानेले पनि आफुले क्लबको राम्रा कामलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै क्लबले गाउँको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उपल्लोफाँटकै युवा विष्णु भट्टले पनि आफ्नो कर्मथलो काठमाण्डौ भएपनि क्लबले गर्ने राम्रा कामका लागि सहयोग गर्ने बताए ।
करिब ५० जनाको भेलाले छलफल गरेर क्लब गठन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्