काठमाडौं, १७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केपी शर्मा ओलीले अब मुलुकमा शान्ति कायम गरेर समृद्धिको दिशामा आफूहरु अघि बढ्न चाहेको बताएका छन् ।
एमाले, माओवादी र नयाँ शक्तिले आगामी चुनावमा तालमेल गर्दै पार्टी एकता गर्ने ६ बुँदे सहमति गरेका छन् । एउटै कम्युनिष्ट पार्टी बनाउने यो सहमति ऐतिहासिक भएको तर, कांग्रेसविरुद्ध नभएको नेताहरुले बताएका छन् ।
सम्बोधन गरेका एमाले अध्यक्ष केपी ओलीले पनि आफूहरुको सहमति कसैको विरुद्ध नभएको बताए । उनले भने, ‘यो देश बनाउने कुरा हो, कसैले झस्किनु पर्दैन ।’ भूगोल, भाषा, जाति र भाषाका आधारमा द्वन्द्व भड्काउने प्रयासविरुद्ध विजय हासिल भएको ओलीको तर्क थियो । ‘सामाजिक सद्भावका लागि एकतामा आएका हौं,’ ओलीले भने, ‘अब मुलुकमा शान्ति कायम गरेर समृद्धिको दिशामा अगाडि बढ्न चाहन्छौं ।’
कम्युनिस्ट पार्टीहरुबीच सत्ताका एकीकरण नभएको उनले जिकिर गरे । ओली थपे, ‘०७४ सालमा देशभक्त वामपन्थी सरकार बन्न लेखेकै छ, कसैले मेट्न सक्दैन ।’ छिमेकीसँग सन्तुलित सम्बन्धका पक्षमा आफूहरु रहेको उनले बताए । ‘बराबरीको हैसियत, मर्यादामा रहेर छिमेक सम्बन्ध । संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तबाट एक शब्द तलमाथि हुने छैन,’ उनले भने, ‘कसैले पनि अर्घेल्याईं गर्नु हुँदैन ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो गठबन्धन चुनावका लागि भएको र बिचार मिल्ने राजनीतिक शक्तिहरुबीच एकीकरणका लागि भएका बताएका छन् । उनले अघि भने, ‘म प्रष्ट पार्न चाहान्छु यो सहमति कांग्रेसविरुद्ध लक्षित छैन, जनता र राष्ट्रको पक्षमा छ ।’




प्रतिक्रिया