काठमाडौं, १७ असोज। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको छ । सहमतिकर्ता दलका नेताहरुले यो सहमतिलाई ऐतिहासिक भनेका छन् ।
सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । तीन दलले अन्य कम्युनिष्ट तथा वामपन्थी पार्टीलाई एकीकरणमा आउन आहृवान पनि गरेका छन् ।


तीन पार्टीबीच आगामी चुनाव लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएको छ । यसका लागि ८ सदस्यीय पार्टी एकता संयोजना समिति गठन गरिएको छ । समितिमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहनेछन् । 
पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड रहनेछन् ।
पार्टी एकताको खाका र कार्ययोजना बनाउनुका साथै सहमति हुन बाँकी विषयहरु टुंग्याउने जिम्मेवारी पाएको यो समितिले सहमतिका आधारमा निर्णय गर्नेछ ।
साथै पार्टीको नीति कार्यक्रम घोषणापत्र बनाउन दस्ताबेज मस्यौदा समिति बनाउने सहमति भएको छ ।




प्रतिक्रिया