वाम तालमेल लोकतन्त्रमाथि खतरा !


काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच हुने भनिएको एकता प्रक्रियालाई लिएर अहिले विभन्न टिकाटिप्पणी भैरहेकोछ ।

सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरुले त यो तालमेलको प्रयासलाई लोकतन्त्रमाथि नै खतराको संज्ञा दिएका छन् । कतिपय कम्युनिष्ट नेताहरुले नै यो एकता प्रयासलाई अवसरवादीहरुको मिलन भनी टिप्पणी गरेका छन् । त्यस्तै कतिपय नेताहरुले भने वाम तालमेलाई अपत्यासित र अनौठोको संज्ञा दिएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसले त हिजो आकस्मिक बैठक राखेर वाम पार्टीहरुवीचको एकतालाई गलत भएको संज्ञा दिएको छ । कांग्रेस नेता चन्द्र भण्डारीले त वाम एकताले मुलुकको लोकतन्त्रमाथि नै खतरा बढ्ने चिन्ता व्यक्त गरे । उनले भने,‘कम्युनिष्टहरुको यो तालमेलको गहिरो सन्देश छ, उनीहरुको एकताले नेपालमा अब लोकतन्त्र नै खतरामा पर्ने मैले देखिरहेको छु’
तीन पार्टीवीच आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कार्यगत एकता गर्दै पार्टी एकता संयोजन संयोजन समिति गठन भएपछि नेपाली राजनीतिमै नयाँ तरंग उत्पन्न भएको छ । हुन त पूराना कम्युनिष्ट नेता एवम् माओवादी नेता बैद्यले पनि पनि एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई दक्षिणपन्थी अवसरवादीहरुको मिलन भनी टिप्पणी गरेका छन् ।
बैद्यले पत्रकार ऋषि धमलासँगको कुराकानीमा ‘यो एकता विचित्र खालको छ,’ उनले भने, ‘यो दक्षिणपन्थी अवसरवादीहरुको मिलन हो ।’ माओवादी केन्द्रले क्रान्तिकारी बाटो पूरै छोडेर प्रतिक्रियावादी बनेको पनि वैद्यले आरोप लगाए ।
‘क्रान्तिकारी ध्रुवीकरण अब तीब्र बनाउनुपर्छ’, उनले भने, ‘ क्रान्तिकारीको ध्रुवीकरण आजको तत्कालको आवश्यकता बनेर गएको छ ।’ अब एमाले र माओवादी केन्द्र मिलिसकेपछि पार्टीको नाम माओवादी र एमाले राख्नुको कुनै अर्थ नहुने पनि वैद्यको भनाई थियो ।
त्यस्तै अर्का वाम नेता मोहन विक्रम सिंहले पनि यसलाई आफूहरुले वाम ध्रुवीकरण नभन्ने दाबी गरे । उनले भने,‘हामी यसलाई बाम धुव्रीकरण त भन्दैनौँ । तर, त्यो कदमलाई हामीले सकारात्मक मान्छौँ र स्वागत गर्दछौँ ।’
नेपालको कम्युनिष्ट आन्दोलनमा को वाम हो, होइन । को कम्युनिष्ट हो, होइन भन्ने विषयमा धेरै विवादहरु छन् । त्यस्ता कयौँ सैद्धान्तिक कोणबाट छलफल गर्नु पर्ने जरुरी छ । त्यो लामो एउटा छलफलको विषय पनि हो ।
त्यस्तै कांग्रेस नेता डा. रामशरण महतले पनि कम्युनिष्टहरुको यो एकता प्रयासलाई प्रजातन्त्रलाई नै सिध्याउने खेलको संज्ञा दिएका छन् ।