१९ असोज, काठमाण्डौ । नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले लोकतान्त्रिक गठबन्धन निर्माण प्रक्रिया सकारात्मक भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले मुलुकका दलहरु दुई धुव्रमा विभाजित भएर चुनाव लड्दा कडा प्रतिस्पर्धा हुने भएकाले त्यसलाई राम्रो मान्नुपर्ने तर्क गरेका छन् ।
दुईवटा शक्तिमध्ये जसले भए पनि स्थिर सरकार पाउन सके देश र जनताका लागि फाइदा हुने तर्क पाण्डेले गरेका छन् । अहिलेसम्मको नेपालको राजनीतिक सत्ताप्राप्तीको स्वार्थमा मात्रै अडिएकाले अबका दिनमा स्थिर सरकार हुने सम्भावना बढेको बताए । स्थिर सरकार बन्न सके आर्थिक समृद्धिको मुद्दा सार्थक हुने उनको भनाई छ ।
आगामी मंसिरमा हुने चुनावमा वाम गठबन्धनले नै बहुमत प्राप्त गने जिकिर नेता पाण्डेले गरेका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैतर्फ आन्तरिक असन्तुष्टी भएकाले त्यसले दुवै पक्षलाई प्रभाव पार्ने भए पनि वाम गठबन्धन बलियो भएकाले बहुमत ल्याउने दाबी पाण्डेको छ ।
वाम एकताको प्रक्रियाप्रति केही दलका केही नेताले असन्तुष्टी जनाएको भन्ने प्रसङ्गमा पाण्डेले असन्तुष्टी हुनु स्वभाविक भएको भन्दै त्यस्ता असन्तुष्टी क्रमश समाधान हुँदै जाने बताए ।
वाम एकताको प्रक्रियाले कुनै एक दल वा कुनै एक नेतालाई फाइदा पुगेको भन्ने तर्कको खण्डन गर्दै नेता पाण्डेले भने, “पार्टीको वा एउटा दलको फाइदा होइन, नेपाली जनताको जित भन्छु म यसलाई ।” कम्युनिष्टको एकता नै जनताको जित भएको पाण्डेको कथन छ ।
वाम एकताको विरोध गर्ने वामनिकट अन्य दलहरु आगामी दिनमा एकता प्रक्रियामा आउने स्थिती पैदा हुने तर्क पाण्डेको छ । “उचित मानसम्मान दिने गरी मापदण्ड बनाएर अगाडि बढ्यौँ भने अन्य दल पनि एकता प्रक्रियामा आउँछन् ।” पाण्डेको भनाई ।
चुनावी तालमेलका लागि थुप्रै कठिनाई भएको बताउँदै पाण्डेले तालमेलका लागि पनि निश्चित मापदण्ड बनाउनुपर्ने बताए । विगतका चुनावको नतिजाका आधारमा मापदण्ड बनाएर चुनावी तालमेल गर्नुपर्ने सुझाब पाण्डेको छ ।
धादिङको क्षेत्र नम्बर एकमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले सहजै आफुलाई उम्मेदवार स्विकार गर्नुपर्ने तर्क पाण्डेको छ । “म एमालेको पोलिटव्युरो सदस्य । एउटा केन्द्रिय नेतृत्वमा बसेको नेता हुँ । मलाई शालिकरामजिले सहजै छोड्न कुैनै समस्या पर्दैन ।” पाण्डेले भने । “उहाँको लागि त्यहि अनुसारको व्यवस्थापन पनि भइहाल्छ ।”
धादिङ क्षेत्र नम्बर १ बाट आफु प्रत्यक्ष निर्वाचनको उम्मेदवार हुने दाबी पाण्डेले गरेका छन् । तालेमेलमा कुनै समस्या नआउने पाण्डेको तर्क छ ।
माओवादी केन्द्रका नेता जमरकट्टेल र एमालेका नेता पाण्डे दुवै धादिङ क्षेत्र नम्बर १ का नेता हुन् ।




प्रतिक्रिया