झापा, २० असोज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा राजनीतिक दलले उम्मेदवार टुंगो लगाउनका लागि व्यस्त देखिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली काँग्रेसले झापाका तीनवटा निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ भने दुईवटा क्षेत्रमा दुईभन्दा बढीको नाम पठाएको छ ।
झापा क्षेत्र नं १ बाट विश्वप्रकाश शर्मा, ३ बाट कृष्णप्रसाद सिटौला र ४ बाट देउमान थेवेको नाम सर्वसम्मत सिफारिस गरिएको काँग्रेस झापाले जनाएको छ ।
त्यस्तै क्षेत्र नं २ बाट उद्धव थापा, सरिता प्रसाईं, सुधीरकुमार शिवाकोटी र राजेश खड्का तथा क्षेत्र नं ५ बाट केशवकुमार बुढाथोकी, डा खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम केन्द्रीय समितिमा पठाइएको छ ।
यसैगरी काँग्रेस झापाले प्रदेशसभा सदस्य निर्वाचनका लागि दश वटा निर्वाचन क्षेत्रमा २६ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै, नेकपा एमाले झापाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद एलपी सावा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत् रुपमा सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिनुभयो ।




प्रतिक्रिया