Logo

जापानमा नेपालको पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार



टोकियो, जापान, २० असोज । पर्यटन प्रर्वद्धनका लागि जापानमा ‘जाटा फेयर २०१७’ मार्फत प्रचारप्रसार गरिएको छ । प्रचारप्रसारका क्रममा पर्यटकीय क्षेत्रको फोटोसहितका सामग्री एक लाखभन्दा बढी विदेशी नागरिकलाई वितरण गरिएको थियो ।

अंग्रेजी, जापानी तथा नेपाली भाषाका फोटोसहितका सामग्री देखेर चासो लिँदै जापानी नागरिकले नेपालबारे जिज्ञासा लिएका थिए । जापानस्थित राजदूतावासको सहयोगमा नेपाल पर्यटन बोर्डले उक्त काम गरेको हो ।

वितरित सामग्रीमा सुन्दर, शान्त देश नेपालको एकपटक अवलोकन गरौँ भन्ने सन्देश दिइएको थियो । जापानका ४७ प्रान्तका पदाधिकारीले नेपालबारे जानकारी लिँदै भविष्यमा नेपाल–जापान पर्यटनमा एक भएर जान सक्ने भनाइसमेत राखेका जापानका लागि पर्यटन प्रतिनिधि अनुज थापाले बताउनुभयो ।

जापानसहित ३० राष्ट्रका नागरिकलाई सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका दूत सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोटसहित विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रको जानकारी फोटोसहितका सामग्रीमार्फत उपलब्ध गराइएको थियो ।

नेपालको यो प्रचारप्रसारलाई आयोजक जापान एशोसिएसन अफ ट्राभल एजेन्ट जाटाले नमूनायोग्य भन्दै विदेशी नागरिकलाई बुझाउन अबलम्बन गरिएको उपाय साँच्चिकै सराहनीय रहेको जनाएको छ ।

प्रत्येक वर्ष आयोजना गर्दै आएको जाटा फेयर २०१७ मा योपटक नेपाल चिनाउने सात हजार फोटोसहितका सामग्री वितरण गरिएको पर्यटन बोर्डका प्रबन्ध निर्देशक सन्तोष घिमिरेले जानकारी दिनुभयो । जाटा फेयर २१ सेप्टेम्बरदेखि २५ सम्म टोकियोमा भएको थियो ।

फेयरमा नेपालले श्रव्य, दृष्य र सामाजिक सञ्जालमार्फत चिनिएका पर्यटकीय क्षेत्रको मार्गसहितका सामग्री वितरण गरेको थियो । जापानका ४७ प्रान्तका पर्यटन सम्बद्ध पदाधिकारी र ३० राष्ट्रका अधिकारीलाई नेपाली कला संस्कृतिबारे जानकारी दिन नेपाली गीत ‘रेशम फिरिरी’मा स्थानीय कलाकारमार्फत नृत्य प्रदर्शन गरिएको थियो । एकसाता ढिलो गरी बिहबार जाटाले सार्वजनिक गरेकोे तथ्यांकमा एक लाख ९१ हजार ५७७ जनाले अवलोकन गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्