Logo

दुई सातादेखि सञ्चारविहीन



दुनै, डोल्पा, २१ असोज । दुर्गम डोल्पा जिल्ला दुई सातादेखि सञ्चारविहीन भएको छ । यहाँका विभिन्न स्थानमा राखिएको नमस्ते र स्काईको मोबाइल सेवामा समस्या उत्पन्न भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकास्थित रसी लेकमा रहेको फोन सेवासहितको रेडियो लिंक टावरमा आवश्यक उपकरण थप्न बाँकी रहेकाले पटक पटक मोबाइल सेवामा समस्या आइरहेको दूरसञ्चार क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।

झण्डै दुई सातादेखि नमस्ते र स्काईको टावरमा समस्या देखिएकाले डोल्पावासी सञ्चारविहीन भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी प्रकाश पन्थीले बताउनुभयो “नमस्तेको मोबाइल सेवा त दुईसातादेखि नै ठप्प छ, स्काईको मोबाइल सेवा दुई चार दिनमा एक दिन मात्र आउने गर्छ”, पन्थीले भन्नुभयो ।

भौगोलिक रुपमा विकट डोल्पामा फोन सुविधाविना डोल्पालीको दैनिकी एकदमै कष्टकर बनिरहेकाले यथाशीघ्र मर्मतका लागि डोल्पालीले माग गरेका छन् ।

प्रजिअ केशवराज आचार्यले भन्नुभयो, “यहाँका विभिन्न ठाउँमा राखिएका रिपिटर टावरमा समस्या उत्पन्न भएको जानकारी पाएको छु, डोल्पामा भइरहेको सञ्चार असुविधालाई हटाउन यथाशीघ्र काम अगाडि बढाउन निर्देशनसमेत दिएको छु । ” सेवा अवरुद्ध भएपछि त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिकालगायत स्थानीय तह सम्पर्कविहीन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्