Logo

डा. उपेन्द्र महतोद्धारा निर्मित ७ सय ५० बेडको नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा



काठमाडौं, २५ असोज । गैरआवासीय नेपाली संघ –एनआरएनका संस्थापक अध्यक्ष एवम् समाजसेवी डा. उपेन्द्र महतोको लगानीमा बनेको अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७ सय ५० बेडको नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा आएको छ।

उक्त अस्पताल गैरआवासीय नेपाली दिवस अवसर पारेर आज (बुधबार) उद्घाटन गरिएको हो। गैरआवासीय नेपाली संघ अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने एवं उपाध्यक्षहरु कुमार पन्त र भवन भट्टले संयुक्त रुपमा पानसमा बत्ती बालेर अस्पतालको उद्घाटन गरेका हुन्।

ललितपुरको सैवु नक्खुमा स्थापना गरिएको सो अस्पताल निजी क्षेत्रको सबैभन्दा सुविधाससम्पन्न अस्पताल हो । त्यतिमात्रै नभएर यो एशियाकै दोस्रो ठूलो अस्पताल भएको दाबी गरिएको छ ।
उद्धघाट्न कार्यक्रममा सम्बोधन गर्दै सम्पूर्ण नेपालीलाई उपचारका लागि विदेश जानु नपर्नेगरी आफूले अस्पताल स्थापना गरेको डा.महतोले विश्वास दिलाएका थिए ।

अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्दे्शिका २०७०, अन्तर्रा्ष्ट्रियस्तरको जोइन्ड कमिसन इन्टरनेशनल, एनएबीएच, एनएबीएल लगायतका मापदण्डहरु पूरा गरिएको कार्यक्रममा जानकारी गराईएको थियो ।

७५० बेडको मेडिसिटीमा न्युरो साइन्सेज, कार्डियाक, ग्यास्ट्रो, रिनल, अर्थो एन्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजी सेन्टर अफ एक्सलेन्सका फरक विभाग स्थापना गरी सेवा सुरु गरिएको अस्पतालका जेनरल म्यानेजर विजय रिमालले जानकारी दिए ।

अस्पतालले एनआरएन एण्ड मेडिसिटी पार्टनर्स ईन प्रोग्रेस नामक कार्यक्रमको आयोजना गरि अस्पतालको बारेमा जानकारी गराएको छ । सो अवसरमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले अस्पतालको विशेषता र क्षमताका बारेमा जानकारी दिएका थिए ।

उनले अस्पतालले ३ वर्ष्भित्र ७ सय ५० बेडबाट सेवा दिने बताए । अस्पतालमा विशेषतः न्यूरो साइन्सेज, कार्डियाक साइन्सेज, ग्यास्ट्रो साइन्सेज, रिनल साइन्सेज, अर्थो एण्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजीलाई सेन्टर अफ एक्सलेन्सको रुपमा अघि बढाउने बताइएको छ ।

नेपाल मेडिसिटीले कलेजो, मिर्गौला, बोनम्यारो प्रत्यारोपण लगायत भविष्यमा मुटु प्रत्यारोपणसम्मको उद्देश्य राखेको कार्यक्रममा जानकारी गराइयो । अस्पतालमा एउटा हाइब्रिड अप्रेशन थियटरका साथै १६ वटा मोडुलर अप्रेशन थियटर रहेको छ ।  त्यस्तै ३ टेस्ला एमआरआई, २५६ स्लाइसको सिटिस्क्यानका साथै ५२ वटा ओपिडी कक्ष रहने अस्पतालले जनाएको छ ।

अस्पतालले अभिभावक प्रतिको जिम्मेवारी भन्दै अभिभावकको नियमित स्वास्थ्यजाँच घरमै गएर वा अस्पतालमा दिनेगरी विभिन्न प्याकेजपनि सुरु गर्ने जनाएको छ ।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा.महतोले गुणस्तरीय स्वास्थ्य सेवा सबै नेपालीलाई र गैरआवासीय नेपालका अभिभावकलाई पुर्याउने उद्देश्यले अस्पताल खोलिएको बताए ।

उनले आफ्नी आमाले गाउँमा उपचार नपाएर अकाल मृत्युवरण गर्न परेको दुःख सम्झिँदै अब स्वास्थ्य सेवाको अभावमा कसैले ज्यान गुमाउन नपर्ने दाबी गरे । उनले गैरआवासीय नेपालीहरुले नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेको पनि बताए ।

सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्त शर्मा, उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, गैरआवसीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्षद्वय भवन भट्ट, कुमार पन्त, निर्वतमान अध्यक्ष जीवा लामिछाने लगायतले अस्पतालले नेपालमै गुणस्तरीय सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिल कुमार शर्माले नेपाल मेडिसिटीले उपलब्ध गराउने गुणस्तरीय सेवाहरुको छिटै जनमानसमा अनुभूति हुने बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्