Logo

कविताः मेरो मन भन्छ



काठमाडौं, २९ असोज ।

मेरो मन भन्छ

हेर्दा मोहक् जलथल अहो स्वर्ग भन्दा छ राम्रो
पूरै धर्ती झलमल हुने, वीर नेपाल हाम्रो
लाखौं योद्धा रण तिर झरे काप्न लाग्थे विरोधी
उस्तै राखौं जन धन सबै वीरताको लगानी

डिग्रीले के नहुनु हुन गो१ हो नि शिक्षा बिभोर
शिक्षा मात्रै जति छ बलियो आसभर्ने अमोल
सत्ताधारी जब नव भयो फेर्छ देश्को मुहार
आशामै गो सब दिनदिनै दिन्छ कस्ले गुहार

व्यर्थै यस्तो, कसर नबनौं एक आस्था जगाऊँ
नेपाली हौं, सब सम बनौं, प्रेम माला लगाऊँ
तेरो मेरो, हर समय यो, दूर जस्तो हुनाले
आफैं धोका ग्रहण हुन गो, क्रूर सस्तो हुनाले

पू्र्खाले के, लिनदिन सके ? दृष्टिमै छैन रेखी
दागा धर्छौं कुटिल मनले सत्य बाटा नदेखी
सानोलाई मन दिन सिकौं वृद्ध सम्मान उस्तै
माया बाँडे मन पनि खुशी हुन्छ चंगा दुरुस्तै।

डाँफे नाच्ने रनवन उता फूल लालीगुराँस
चौंरी गैंडा हरिण चितुवा हेर्नु कस्तो समास
आँखैमा देश् हृदय तलमा गुञ्जने राष्ट्र गान
बोलीमा झैं अटुट रहँदै थेगुँला स्वाभिमान

     मन्दाक्रान्ता

कृष्ण भुसाल प्यासी
बुटवल १७ रुपन्देही



प्रतिक्रिया दिनुहोस्