Logo

डडेल्धुरामा पोषण पुनःस्थापना केन्द्र स्थापना



डडेल्धुरा, ३० असोज : डडेल्धुरामा पहिलो पटक पोषण पुनःस्थापना केन्द्रको स्थापना भएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरामा पहिलो पटक कुपोषित बालबालिकाको उपचारका लागि भन्दै पोषण पुनःस्थापना केन्द्रको स्थापना गरिएको हो ।

नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोगमा र उपक्षेत्रीय अस्पताल डडेल्धुरा र गैरसरकारी संस्था रुडुकको पहलमा उक्त संस्था स्थापना गरिएको गैरसरकारी संस्था रुडुकका कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी गराउनुभयो ।

पोषण केन्द्रमा कुपोषित बालबालिकालाई पोषण खानेकुराका साथै औषधिदेखि उनका अभिभावकलाई पोषणका बारेमा जानकारी दिने उपक्षेत्रीय अस्पताल डडेल्धुराकी अनमी मानकुमारी थापाले बताउनुभयो ।

पोषण पुनःस्थापना केन्द्रमा जन्मिएदेखि १४ वर्षसम्मका कुपोषित बालबालिकाको उपचार हुने गरेको छ । पोषण पुनःस्थापना केन्द्र स्थापना भए पछि कुपोषित बालबालिकाको उपचारका लागि सहज भएको कुपोषित बालबालिकाका अभिभावकको भनाइ रहेको छ ।

पूर्णरुपमा निःशुल्क उपचार हुने केन्द्रमा बिरामी बच्चालाई १५ दिनदेखि दुई महिनासम्म उपचारका लागि राख्ने गरेको उपक्षेत्रीय अस्पतालले जनाएको छ । डडेल्धुरालगायत अन्य पहाडी जिल्लामा कुपोषित बालबालिकाको संख्या बढ्दो रुपमा रहेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

पोषण केन्द्रमा उपचारका लागि डडेल्धुरासहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका कुपोषित बालबालिका पनि आउने गरेको केन्द्रले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्