काठमाडौं, १ कार्तिक । नवनियुक्त सहरी विकासमन्त्री दिलनाथ गिरीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुने स्पष्ट पारेका छन् । उनले भने,‘चुनाव सर्दैछ भनेर हल्ला फिँजाईएको छ, तर म विश्वस्त दिलाउँछु कि तोकिएकै मितिमा चुनाव हुन्छ, कसैले शंका गर्नुहुँदैन, चुनावको सुनिश्चितताको लागि नै हामी सरकारमा सहभागी भएका हौं।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गिरीले तोकिएकै मितिमा चुनाव सम्पन्न गराउनको लागि नै आफ्नो पार्टी सरकारमा सहभागी भएको जिकिर गरेका हुन् । उनले थपे,‘चुनाव हुन्छ, सरकार यसको लागि पुरै प्रयत्नशिल छ, सरकार त्यसैको लागि बनेको हो, हाम्रो मुख्य दायित्व भनेकै समयमै बाँकी निर्वाचन सम्पन्न गरेर संविधानको सफल कार्यान्वयन गर्नु हो।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले चुनाव सार्न खोज्यो भनेर आएका अभिव्यक्तिहरुमा कुनै सत्यता नभएको स्पष्ट पारे । उनले अघि भने,‘विभिन्न बहाना बनाएर अतिरञ्जित ढंगबाट चुनावी वातावरण बिगार्ने कोशिश हुँदैछ, आँफै के–के गर्ने अनि आँफै फेरि तर्सिने काम गर्नुहुँदैन्, चुनाव तोकिएकै मितिमा हुन्छ।’
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले मन्त्री गिरीलाई सफल कार्यकालको शुभकामना र बधाई दिएका थिए ।




प्रतिक्रिया