प्रदेश नम्बर एकको राजधानी धनकुटा बनाउने सुनिलबहादुर थापाको प्रतिबद्धता


२ कात्तिक, काठमाण्डौ । उद्योमन्त्री सुनिल बहादुर थापाले धेरै समय अघि सुर्यबहादुर थापाले वृहत लोकतान्त्रिक शक्तिको अवधारणा ल्याएको स्मरण गराउँदै अबको आवश्यकता अनुसार लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको आयोजनामा भएको देउसी भैलो कार्यक्रमका अवसरमा आफ्नै निवासमा पुगेका क्लबका अध्यक्ष तथा देउसी भैलो कार्यक्रमका संयोजक ऋषि धमलासँग कुरा गर्दै लोकतान्त्रिक गठबन्धनले मजबुत सरकार बन्ने भएकाले यसलाई सफल बनाउनुपर्ने बताए ।

राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका थापाले वाम र लोकतान्त्रिक ध्रुविकरणले स्थायी सरकारको अवस्था आउने भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
यसअघिको दोस्रो संविधानसभाको निर्वाचनमा जनतासमक्ष संविधान निर्माण गर्ने बाचा गरेर भोट मागेको स्मरण गराउँदै थापाले भने, संविधान दिएँ, अब आर्थिक विकासका लागि काम गर्नुपर्नेछ ।

पूर्वाधार र केन्द्रका हिसाबले उपयुक्त मानिएको धनकुटालाई प्रदेश नम्बर एकको राजधानी बनाउने आफ्नो अभियान भएकाले त्यसलाई साकार रुप दिनका लागि जनताले मत दिने विश्वास थापाको छ ।

चुनाव हुँदैन भनेर अफवाह फैल्याइएकोप्रति असन्तुष्टी जनाउँदै थापाले तोकिएकै मितिमा चुनाव हुने दाबी गरे ।

थापाले रिपोर्टर्स क्लबले चुनाव गराउनका लागि दबाबमूलक र सन्देशमुलक देउसी भैलो कार्यक्रम गरेकोमा धन्यवाद दिएका छन् ।
यसअघि संविधान निर्माणमा क्लबले दबाब दिएर महत्वपूर्ण काम गरेको स्मरण गराए । अहिलेको यो कार्यक्रममाले चुनाव गराउनमा सहयोग पुग्ने थापाको विश्वास छ ।