मोरङ, २ कार्तिक । मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिदै गर्दा स्थानिय स्तरमा राजनितिक गतिविधि पनि वढ्दै गएका छन् ।
केन्द्रीय राजनीति ध्रुविकरण भइरहँदा स्थानियस्तरमा पनि राजनीतिक नेता कार्यकर्ताहरु ध्रुविकरण भइरहेका छन्। लोकतान्त्रिक विचारको नेतृत्वकर्ता नेपाली काँग्रेसमा अन्य राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु समाहित हुने क्रम पनि यहि बीचमा तीव्र भइरहेको छ ।
नेपाली काँग्रेसका नेता तथा संसदीय वोर्डका सदस्य डा मिनेन्द्र रिजाल मोरङ २ बाट चुनाव उठ्ने भएपछि त्यस क्षेत्रमा काँग्रेस कार्यकर्तासँगै अन्य पार्टीका नेता कार्यकर्ताहरु पनि उत्साहित भएको बुधवारको एक कार्यक्रममा देखियो ।
संसदीय वोर्डमा मनोनित भएपछि पहिलोपटक मोरङ पुगेका रिजाललाई कार्यकर्ताहरुले विराटनगर एयरपोर्टदेखि नै भव्य स्वागत गरेका थिए । सो स्वागत अझ भव्य त्यतिखेर भयो जतिखेर एमाले, माओवादी, संघीय फोरम, राजपा र राप्रपाका करिव ३ सय नेता कार्यकर्तालाई नेता रिजालले स्वागत गर्दै पार्टी प्रवेश गराए ।
नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको राजनीतिक उत्तराधिकारीको रुपमा सोहि क्षेत्रबाट चुनाव उठ्न लागेका रिजाललाई स्थानियको पनि अपार समर्थन देखिएको छ । अन्य पार्टीका सयौं कार्यकर्ता काँग्रेस प्रवेश गरेका गर्नुले पनि डा रिजालप्रतिको आकर्षण पुष्टी हुने स्थानिय अरुण साहले बताए ।
बुधवार रिजालले संघीय फोरमका राष्ट्रिय सल्लाहकार अरुण शर्मा सहितका कार्यकर्ताहरुलाई काँग्रेसमा प्रवेश गराए । राजपा मोरङ २ को क्षेत्रीय अध्यक्ष राजकुमार राजवंशीलाई पनि उनका स्थानिय कार्यकर्ता सहित रिजालले टीका माला लगाएर पार्टी प्रवेश गराए ।
राप्रपाका जिल्ला सदस्य अनवर मियाँ, एमाले डाइनियाँ गाउँपालिकाका सदस्य धिरेन्द्र साह र माओवादीका क्षेत्रीय उपाध्यक्ष फजुल मियाँलाई पनि रिजालले पार्टी प्रवेश गराएका छन् ।
त्यसै त काँग्रेसका लागि बलियो मानिने मोरङ २ मा डा रिजालको उम्मेदबारी र काँग्रेस प्रवेशको लहरले मत परिणाम काँग्रेसकै पक्षमा आउने निश्चीत जस्तै भएको अधिकांशको भनाई छ ।




प्रतिक्रिया