पत्रकार धमलालाई समानुपातिकमा राख्ने कि प्रत्यक्ष चुनाव उठाउने भन्नेबारे कांग्रेसमा छलफल सुरु


काठमाडौं, ३ कार्तिक । पत्रकार ऋषि धमलालाई आफ्नो पार्टीबाट प्रत्यक्ष चुनाव उठाउने कि समानुपातिकतर्फ राख्ने भन्नेबारे नेपाली कांग्रेस संसदीय बोर्डमा आज विशेष छलफल सुरु भएको छ ।

बोर्ड सदस्यहरुवीच धमलालाई समानुपातिकमा राख्ने कि प्रत्यक्षतर्फ चुनाव उठाउने भन्नेबारे शीर्ष नेताहरुवीच मत बाझिएको छ । केही नेताले उनलाई प्रत्यक्षमै चुनाव लडाउनुपर्ने धारणा राखेका थिए । उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री समेत रहेका नेता गोपालमान श्रेष्ठले पनि धमलालाई आफ्नो पार्टीबाट उम्मेद्धवार बनाउनेबारे आजको बैठकमा छलफल भएको जानकारी दिए ।

धमलालाई धादिङ वा रौतहटमध्ये एक जिल्लाबाट चुनाव उठाउने तयारी भएको पनि एक नेताले जनाए । हुन त धमलालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघि नै रौतहटको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न आग्रह गरेका थिए । यादवले उक्त आग्रह गरेको एक साता नबित्दै हिजोमात्रै राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पनि राजपा–फोरम गठबन्धनबाट चुनाव लड्न आग्रह गरेका थिए ।

उता राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरा र राप्रपा अध्यक्ष कमल थापाले पनि धमला उठ्ने क्षेत्रमा आफ्नो पार्टीबाट कोही पनि नउठ्ने प्रतिबद्धता जनाएका छन् ।

रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा राप्रपा अध्यक्ष थापाले भने,‘ऋषिजी नै चुनावमा उठ्ने हो भने हाम्रो पार्टीले त्यो क्षेत्रमा कुनै उम्मेद्धवारी दिँदैन, हामी उहाँलाई नै सघाउँछौं।’ थापाले धमलालाई कांग्रेस, राजपा–फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिकले संयुक्त उम्मेद्धवारको रुपमा उठाउनुपर्ने धारणा राखे ।