नेपाली कांग्रेसले होस गुमाएको आरोप लगाउँदै लोकतान्त्रिक गठबन्धन भत्किएको उपेन्द्र यादवको घोषणा


४ कात्तिक, काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मंसिर १० गते हुने पहिलो चरणको चुनावमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले आफ्नो दल एक्लै चुनावमा अगाडि बढेको जानकारी दिएका हुन् ।
लोकतान्त्रिक गठबन्धन अन्रतगत नेपाली कांग्रेससँग चुनावी तालमेल हुने कुरा भए पनि पहिलो चरणको चुनावका लागि त्यो सम्भव नभएको यादवले बताए । तालमेलका लागि प्रस्ताव पनि भएको र छलफल पनि भएको तर विचार मिल्न नसकेको भन्दै कांग्रेसले उदारता देखाउन नसकेको आरोप यादवले लगाएका छन् ।
आफ्नो अस्तित्व छोडेर कांग्रेसलाई काँधमा बोक्न नसकिने यादवले बताए ।
कांग्रेसले तालमेलका बारेमा गम्भीर भएर कुरा गर्नुको साटो छल्ने काम गरेको भन्दै होस नै गुमाएको आरोप यादवले लगाएका छन् ।
अब आफ्नो पहिचानलाई लिएर पहिलो चरणको चुनाव लड्ने यादवको भनाई छ ।

दोस्रो चरणको चुनावमा भने राजपा र फोरमको साझा उम्मेदवार हुने यादवले जानकारी दिए । अरु कुनै दल पनि मानसिक रुपमा तालमेलका लागि तयार भयो भने आफ्नो पनि तयार हुने यादवको भनाई छ । “हामी तालमेलका लागि खुला छौँ । आफ्नो मूल्य मान्यतालाई र पहिचानलाई त्यागेर होइन । समानताका आधारमा तालमेल गर्न हामी तयार छौँ ।” यादवले भने ।

नेपाली कांग्रेसलाई ग्रह दशा लागेको भन्दै यादवले भने, “कांग्रेसलाई शनी ग्रह छ । उल्टो कुरा सोच्छ । उल्टो कुरा गर्छ । त्यसको परिणाम पछि आउँछ ।”
कांग्रेसले निर्वाचनको परिणामपछि पछुताउनुपर्ने यादवको दाबी छ । नीति, सिद्धान्त र आदर्शलाई छोडेर नेपाली कांग्रेस कुमार्गतर्फ लागेको यादवको टिप्पणी छ । कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई छोडेर विपिको सिद्धान्त त्यागेको आरोप यादवको छ ।

“कांग्रेस पार्टी भनेको ठूलो जहाज त हो, तर दिशा सूचक यन्त्र नै विग्रिएको छ । एउटा ड्राइभरले पूर्व लान खोज्छ, अर्कोले पश्चिम । अब समुद्रमा रुमल्लिन्छ ।” यादवले कटाक्ष गरे ।