कृषकलाई खुशीको खबर, ट्याक्टर किन्दा लाग्ने १३ प्रतिशत भ्याट हटाइने


६ कात्तिक, काठमाण्डौ । कृषि मन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले लोकतान्त्रिक गठबन्धन निर्माणका लागि कार्यदलले काम गरिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता यादवले निकट भविष्यमा नै कार्यदलले एउटा नतिजा दिने विश्वास दिलाएका छन् ।

अब २,३ दिनपछि नै गठबन्धनलाई कार्यदलले मूर्त रुप दिने यादवको दाबी छ । दलीय हैसियत अनुसार नै चुनावी तालमेल गर्नुपर्ने भन्दै यादवले त्यसका लागि गठबन्धन निर्माणमा लागेका दलका नेताहरुले उचित प्रस्ताव राख्नुपर्ने बताए ।

फरक प्रसङ्गमा मन्त्री यादवले किसानले ट्याक्टर किन्दा १३ प्रतिशत भ्याट लगाइको विषयमा मन्त्रालयले के गर्ने भनेर योजना बुन्दै गरेको बताए । गरिब किसानले खरिद गर्ने ट्याक्टरमा लगाइने गरिएको भ्याटको व्यवस्था हटाउने प्रतिबद्धता मन्त्री यादवले गरेका छन् ।

“निकट भविष्यमा नै हामीले भ्याट हटाउने कुरा भइरहेको छ । हामी हटाउँछौँ ।” मन्त्री यादवले भने । निर्णय भइनसकेको भए पनि भ्याट हटाउनका लागि गृहकार्य भइरहेको मन्त्री यादवको भनाई छ ।