पूर्व प्रधानमन्त्री, पार्टी अध्यक्ष, वरिष्ठ नेतादखि प्रभावशाली नेताको उम्मेदवारी प्रतिनिधिसभाका लागि (विस्तृत विवरण)


कार्तिक ६, काठमाण्डौ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिनेमा ठूला र चर्चित नेता पनि छन् । त्यस्तै केही बहालवाला मन्त्री पनि उम्मेदवार बनेका छन् ।
पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धीमा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ छन् । भट्टराईले नेपाली कांग्रेससँग तालमेल गरी उम्मेदवारी दिएका हुन् ।

यसैगरी गोरखा–१ बाट प्रतिनिधिसभामा कांग्रेसका नेता तथा संसदीय दलका पूर्वप्रमुख सचेतक चीनकाजी श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दिएका छन् ।
एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । एमाले पूर्वसांसद धनबहादुर बुढाले डोल्पाबाट उम्मेदवारी दिएका छन् ।
यसैगरी माओवादी केन्द्रका वर्षमान पुनले रोल्पा, जनार्दन शर्माले पश्चिम रुकुम र शक्ति बस्नेतले जाजरकोटबाट उम्मेदवारी दिएका छन् । यसैगरी देव गुरुङले लमजुङबाट र अग्नि सापकोटाले सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नुवाकोट–१ र अर्जुनरसिंह केसीले नुवाकोट–२ बाट उम्मेदवारी दिएका छन् । यसैगरी कांग्रेसका अर्का नेता बलबहादुर केसीले सोलुखुम्बु र भीष्म आङदम्बेले पाँचथरबाट उम्मेदवारी दिएका छन् । तरुण दलका महासचिव भूपेन्द्रजङ शाहीले कालीकोट, पूर्वराज्यमन्त्री दीपक खड्काले संखुवासभाबाट उम्मेदवारी दिएका छन् । यसैगरी पूर्वराज्यमन्त्री टेकबहादुर गुरूङले मनाङबाट उम्मेदवारी दिएका छन् ।

बहालवाला मन्त्री पनि चुनावी मैदानमा
प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिनेमध्ये केही बहालवाला मन्त्री पनि छन् । नेपाली कांग्रेसका केन्द्रीय तथा बहालवाला सञ्चारमन्त्री मोहन बस्नेतले सिन्धुपाल्चोक–१ बाट उम्मेदवारी दिएका छन् । यसैगरी सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले रोल्पाबाट उम्मेदवारी दिएका छन् । रुकुम पश्चिमबाट उम्मेदवारी दिएका जनार्दन शर्मा पनि बहालवाला मन्त्री हुन । यसैगरी अर्का मन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा कालीकोट (ख) बाट उम्मेदवारी दिएका छन् ।
कानुन राज्यमन्त्री दिलमान पाख्रिनले प्रतिनिधिसभामा धादिङ–२ बाट उम्मेदवारी दिएका छन् । यसैगरी बागलुङ–१ बाट उम्मेदवारी दिएकी चम्फादेवी खड्का पनि बहालवाला मन्त्री हुन् ।

केन्द्रीय नेता प्रदेशसभामा
प्रदेशसभामा उम्मेदवारी दिएकामध्ये केही विभिन्न पार्टीका केन्द्रीय नेता पनि छन् । मन्त्रीसमेत भइसकेका केही नेताले प्रदेशसभामा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जीवनबहादुर शाहीले हुम्ला (ख) बाट प्रदेशसभामा उम्मेदवारी दिएका छन् । मुख्यमन्त्रीमा उम्मेदवारी दिने आकांक्षामा उनले प्रदेशसभामा उम्मेदवारी दिएको कांग्रेस स्रोतको भनाइ छ ।
यसैगरी मुख्यमन्त्रीको आकांक्षामा एमालेका केही केन्द्रीय नेताले पनि प्रदेशसभामा उम्मेदवारी दिएका छन् । एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व सञ्चार मन्त्री शेरधन राईले भोजपुर (ख) बाट उम्मेदवारी दिएका छन् । यसैगरी अर्का पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डेले धादिङबाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् । एमालेकै सचिव पृथ्बीसुब्बा गुरुङले लमजुङ (ख) बाट उम्मेदवारी दिएका छन् । माओवादीका नेता तथा पूर्वमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोट (ख) बाट उम्मेदवारी दिएका छन् ।

बागीको बिगबिगी
जाजरकोटमा वाम तालमेललाई अस्वीकार गर्दै एमालेका नेता गोविन्दविक्रम शाहले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट उक्त जिल्लामा शक्ति बस्नेतले उम्मेदवारी दिएका छन् । एमाले र माओवादी केन्द्रबीचको तालमेलअनुसार जाजरकोटमा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भएको थियो ।
यसैगरी मनाङमा एमालेका दीपक मनाङेले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट टिकट नपाएपछि दोलखाका एमलेका नेता लालबहादुर केसीले पार्टी परिवर्तन गरी नेकपा मालेबाट दोलखा (ख) मा प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् ।
पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि आइतबार ३२ जिल्लामा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको ३७ सदस्यका लागि ३२० र प्रदेशसभाको ७४ सदस्यका लागि ४८२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्तासँगै आचारसंहिता लागू भएको छ ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप छन् ।
प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ का रुकुम (पूर्वी भाग) र रोल्पामा पनि पहिलो चरणमै चुनाव हुँदैछ ।
प्रदेश ६ का रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि सोही दिन निर्वाचन हुनेछ ।

मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्न निर्वाचन हुनेछ । दोस्रो चरणमा प्रतिनिधिसभाका लागि १ सय २८ र प्रदेशसभाका लागि २ सय ५६ सिटका लागि चुनाव हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन प्रक्रिया असोज २९ गतेबाटै सुरु भइसकेको छ ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ सदस्य प्रत्यक्षतर्फ र १ सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने व्यवस्था छ । सात प्रदेशसभामा प्रत्यक्षतर्फबाट ३ सय ३० र समानुपातिकतर्फबाट २ सय २० सदस्य निर्वाचित हुनेछन् ।
आयोगले उम्मेदवारी दर्ता गर्दा महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरूपमा विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छुट दिएको छ । पहिलो चरणमा ३२ लाख २८ हजार ८ सय ७९ मतदाताले मतदान गर्नेछन् । प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही क्षेत्रका मतदाता हुनुपर्ने व्यवस्था रहेका छ ।