६ कात्तिक, काठमाण्डौ । कालिकोट जिल्लाबाट उम्मेदवार बनेका नेताहरुले स्वार्थ पूर्तिमा नलागि जनताको हितमा काम गर्ने आश्वासन दिएका छन् । कर्णाली अन्चलको दुर्गम जिल्ला मानिएको कालिकोट जिल्ला राज्यबाट हेपिएको भन्दै त्यहाँबाट उम्मेदवार बनेका नेताहरुले जनताको हितका लागि काम गर्ने बताएका छन् ।
नेपाली कांग्रेसबाट प्रतिनिधीसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार बनेका भुपेन्द्र जङ शाहीले आफु सासंद वा मन्त्री पदका लागि नभै जनताको सेवा गर्नका लागि उम्मेदवा बनेको बताएका छन् । कालिकोट जिल्लालाई राज्यले सौतेनी व्यवहार गरेको आरोप लगाउँदै उम्मेदवार शाहीले विकासको मूल धारमा पर्न नसकेको कालिकोट जिल्लालाई बदल्ने समय आएको बताए ।
कांग्रेसकै नेतृत्वमा सरकार भए पनि पहुँचवाला नेताहरुको ठाउँमा मात्रै विकास हुने गरेको शाहीले बताए । “अब कालिकोटको परिवर्तनका लागि कालिकोटबाटै केन्द्रसम्म पुग्न सक्ने नेतृत्व हामीलाई चाहिएको छ ।” शाहीले भने ।
कालिकोटका जनताले गौरव गर्न सक्ने गरी पहिचान परिवर्तन गराउने प्रतिवद्धता शाहीले व्यक्त गरेका छन् । जिल्लामा भएका सम्भावनालाई प्रयोग गरेर विकास गर्न सहज भएको शाहीको भनाई छ । कालिकोट जिल्लाका नेता नै मन्त्री हुँदा पनि विजुलीको व्यवस्था हुन नसकेकोप्रति असन्तुष्टी जनाउँदै शाहीले चुनाव जित्न सके अब जिल्लामा नै विजुली निकाल्ने अभियानमा आफु लाग्ने दाबी गरे ।
“अबको ६ वर्षभित्रमा कालिकोटलाई नमुना जिल्ला बनाउने मेरो लक्ष्य छ । यसका लागि जनताले साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।” शाहीले भने ।
यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दुर्गाबहादुर राउतले पनि जनताको हित बमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनताको सेवाका लागि नै राजनीति गरेको दाबी गर्दै राउतले कतिपयले नारा मात्र राम्रो बनाउने तर काम गर्न नसक्ने आरोप लगाए ।
कम्युनिष्टहरुले किसान, मजदुर, उत्पिडित क्षेत्र जस्ता पक्षलाई मध्येनजर गरेर विकास काम गर्ने र आफु पनि कम्युनिष्ट भएकाले कालिकोटका जनताको भावना बुझ्न सक्ने दाबी राउतको छ । समृद्धिका लागि वाम गठबन्धन गरिएको भन्दै राउतले भने, “स्थायी सत्ता स्थापना नगरेरसम्म जनजीवनमा परिवर्तन गर्न सकिदैन ।”
जल र जमिनको प्रयोगबाट कालिकोट जिल्लाको मुहार फेर्न सकिने राउतको तर्क छ । सडक, विजुली, शिक्षा लगायतका सुविधा पाउन नसकेकाले कालिकोटका जनताले परिवर्तनको सपना देखेको भन्दै राउतले जताको सपना आफुले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । कालिकोटका सचेत नागरिकको आँखा खुलेको भन्दै राउतले आफुलाई जिताउने विश्वास राउतले व्यक्त गरे ।




प्रतिक्रिया