जुर्मुराए जोशी, आगामी ११ गते राजधानीमा भेला, रामचन्द्र पौडेल सकसमा


  • कमलमणि पोख्रेल

६ कात्तिक, तनहुँ । नेपाली कांग्रेस तनहुँमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सहमहामन्त्री गोविन्दराज जोशीबिचको लडाई रोचक बन्दै गएको छ । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि तनहुँको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने दाबी दुवै नेताले गरेपछि जुँगाको लडाई स्पष्ट देखिएको छ ।

कुनै बेला तनहुँका हस्ती मानिउका जोशी पछिल्लो समय विभिन्न कारण छायाँमा परेका थिए । यस पटक भने जोशीले आफ्नो दाबी बलियोसँग पेश गरिरहेका छन् । २०५६ सालको चुनावमा तत्कालिन क्षेत्र नम्बर १ बाट भारी मत अन्तरले विजयी भएका जोशी त्यसपछिको राजनीतिक जीवनमा कमजोर बन्दै गएका थिए । कुनै बेलाका शक्तिशाली गृहमन्त्री मानिएका जोशी पछिल्लो एक दशकभन्दा बढि राष्ट्रिय राजनीतिमा दबिएका हुन् । २०६४ सालको पहिलो संविधानसभाको चुनाव र त्यसपछिको कांग्रेसको महाधिवेशना केन्द्रिय सदस्यसमेत जित्न नसकेपछि जोशी पछाडि परेका थिए ।

त्यसैको फाइदा उठाउँदै दोस्रो संविधान सभाको चुनावमा क्षेत्र नम्बर १ बाट शंकर भण्डारीले बाजी मारेका थिए । नेपाली कांग्रेसको केन्द्रिय सदस्य र संविधानसभाको चुनाव दुवैमा जित हात पारेपछि भण्डारी तनहुँमा उदाएका छन् । अहिले पनि उनको जनमत राम्रो छ । पछिल्लो समय उनी विकासप्रेमी नेताको रुपमा पनि चिनिदै आएका छन् । आगामी चुनावमा भण्डारीले २ नम्बर क्षेत्रबाट टिकट पाउने निश्चित जस्तै छ ।

तर झण्डै एक दशक ओझेलमा परेका जोशीले टिकट नपाए विद्रोह गर्ने धम्की दिएपछि रामचन्द्र पौडेल तर्सिएका छन् । जोशी र पौडेल दुवैको रोजाई तनहुँ क्षेत्र नम्बर १ भएकाले तनहुँ कांग्रेस अप्ठ्यारोमा परेको छ । जोशीले तनहुँमा पौडेलले सधैँभरी मनोमानी गरेको आरोप लगाउँदै आएका छन् । राष्ट्रिय राजनीतिमासमेत बलियो शक्ति भएर देखिएका पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा भने विगतमा केही पनि काम नगरेको आरोप लाग्ने गरेको छ । विगतमा चुनाव जित्दा जोशीले भने जनताको हितमा राम्रै काम गरेर देखाएका थिए । तर आरोप पुष्टी हुन नसके पनि भ्रष्टाचारको मुद्दा लागेकै कारण जोशीको राजनीति धरापमा परेको हो ।

७० सालको संविधानसभाको चुनावमा रामचन्द्र पौडेल विरुद्ध तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले बागी उम्मेदवारी दिएर झण्डै तीन हजार मत काट्दा पनि चुनाव जितेका पौडेलको पनि जनमत बलियो रहेको छ । तर यसपटक जोशीले टिकट नपाउने र पौडेल विरुद्ध नै बागी उम्मेदवार दिएको खण्डमा पौडेललाई चुनाव जित्न निकै कठिन हुने आनुमान गरिएको छ ।

टिकटका लागि जोशी यतिखेर कम्मर कसेर लागेका छन् । जोशीले आगामी ११ गते काठमाण्डौको एक पार्टी प्यालेसमा भेलाको आयोजनासमेत गरेका छन् । जोशीले भेलामा आफु निकट सबैलाई उपस्थिती हुन आह्वान गरेका छन् ।

वाम गठबन्धनका कारण अप्ठ्यारो परेको नेपाली कांग्रेसलाई आफ्नै दलभित्रका नेताहरु मिल्न नसक्दा अझ कमजोर बनाउने निश्चित छ ।