काठमाडौँ, ६ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ ।
राप्रपाले मुलुकका सातवटै प्रदेशमा चुनावी सभा गर्ने तयारीसहित उम्मेदवारको छिनोफानो गरेको हो ।
पार्टी अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा होमिने भएका छन् । त्यस्तै पर्सा–१ मा उपाध्यक्ष राजीव पराजुली, झापा–३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख(–१ मा कुन्तीकुमारी शाही र काठमाडौँ–७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिने भएका छन् ।
आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले सो पार्टीलाई सात स्थान दिन तयार भएको र बाँकी दुई स्थानका लागि र उम्मेदवारको छनोट हुन बाँकी रहेको बताइएको छ ।
प्रदेशसभा निर्वाचनका लागि सोही गठबन्धनबाट पार्टीले हालसम्म धादिङ (ख) बाट सोनाम तामाङ, बैतडी (ख) बाट गणेश चन्द, म्याग्दी (क) बाट भीमप्रसाद गौचनलाई उम्मेदवारका रूपमा तय गरेको जनाइएको छ ।




प्रतिक्रिया