काठमाडौं, ६ कार्तिक । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वाम गठबन्धनबाट आफूहरु नडराएको भन्दै धेरै लामो समयसम्म जानै नसक्ने दाबी गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘एमाले त माम्र्स र लेनिनको फोटो ताल पर्यो भने टेबुलमुनि पनि राख्न तयार छ, माओवादी त क्रान्तिको राप र तापबाट आएको हो, उहाँहरुवीच सिद्धान्त र विचार नै मिल्दैन नि।’ खड्काले वाम गठबन्धन कुनै पनि हालतमा लामो समयसम्म जान नसक्ने ठोकुवा गरे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वाम गठबन्धनको सपनाले भोलि कतै कार्यकारी राष्ट्रपतिको सपना देखेर मुलुक फेरि अर्को प्रयोगशाला त बन्ने होईन भन्ने मात्रै आफूहरुको चिन्ता रहेको सुनाए । खड्काले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको कम्युनिष्ट गठबन्धन सत्ता प्राप्तिका लागि भएको आरोप लगाए ।
खड्काले वामपन्थीको गठबन्धनले नेपाली काँग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताए । ‘‘वाम गठबन्धन क्षणिक स्वार्थका लागि मात्र हो, यो लामो समय टिक्न सक्दैन,’’डा खड्काले भने ।
त्यस्तै उनले राजपा–फोरम र कांग्रेसवीच चुनावी तालमेलमात्रै हुने भन्दै गठबन्धन बनाएर जाने अवस्था नरहेको सुनाए । उनले भने,‘वाम गठबन्धनले दुई तिहाई ल्याएपनि हामी डराउँदैनौं, सानो तरंगले आँत्तिनेछैन्।’ उनले वामपन्थीहरुलाई रोक्नको लागि नै आफूहरुले चुनावी तालमेलको प्रयास गरिरहेको सुनाए ।
त्यस्तै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई च्याँखे थाप्ने कामको संज्ञा दिए । उनले भने,‘म त यस्ता कुरालाई खासै वास्ता गर्दिन, ईग्नोर्ड गरेर जानुपर्छ,, यति बोल्दैमा कोही आँत्तिहाल्नुपर्ने अवस्था छैन्।’
खड्काले पत्रकार ऋषि धमला कांग्रेसको मात्रै व्यक्ति नभएर साझा व्यक्तित्व भएकोले उनलाई जुन पार्टीले टिकट दिएपनि समर्थन गर्नुपने स्पष्ट पारे । उनले भने,‘ऋषिजीलाई कांग्रेसको पनि समर्थन रहन्छ।’




प्रतिक्रिया