वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल


काठमाडौं, ६ कार्तिक । नेकपा एमालेका नेता शंकर पोखरेलले नेपालमा दुई वा तीन भन्दा बढि दलहरु आवश्यक नरहेकोले आफूहरुल्े वामपन्थी गठबन्धन बनाएको स्पष्ट पारे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘जति धेरै दल भयो त्यति नै बढि राजनीतिक अस्थिरता हुन्छ, त्यसैले जति थोरै दल भयो त्यति नै राजनीतिक स्थिरता हुन्छ, त्यसैले राजनीतिक धु्रवीकरण हुनु सकारात्मक परिघट्ना हो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अब जनतामा कांग्रेसको नेतृत्वमा अािर्थक समृद्धिको यात्रा गर्ने कि एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनको नेतृत्वमा अघि बढ्ने भन्ने च्वाईस रहेको बताए । उनले भने,‘हामी विचार मिल्नेहरु एक ठाउँमा आएका छौं, यद्धपी अहिले नै पार्टी एकताको तहमा भने पुगिसकेको छैन्।’

पोखरेलले वाम गठबन्धनबाट आँत्तिएर कांग्रेसले पनि गठबन्धन बनाउने प्रयास गरेपनि उसको गठबन्धन नीतिमा आधारित नभएको आरोप लगाए । उनले थपे,‘हाम्रा बीचमा भएको गठबन्धन त नीतिमा आधारित छ, विचारमा आधारित छ, सिद्धान्तमा आधारित छ, वैज्ञानिक छ।’

उनले वाम गठबन्धनबाट कांग्रेसका शीर्ष नेताहरुमा समेत हलचल भएको बताए । नेता पोखरेलले भने,‘वामपन्थी मिल्दा कांग्रेसका शीर्ष नेताहरुमा अहिले हलचल पैदा भएको छ।’ उनले कांग्रेस शीर्ष नेताहरुमा चुनाव हार्ने चिन्ताको हलचल समेत पैदा भएको आरोप लगाए । यद्धपी उनले आफूहरुको गठबन्धनले कांग्रेसलाई निषेध गर्ने खालको नभएको बरु स्वस्थ प्रतिष्पर्धा गरेर नै अघि बढ्ने रहेको सुनाए ।

उनले चुनावी तालमेलमा उम्मेद्धवारी दिँदा एमाले र माओवादी केन्द्रवीच खासै विवाद र असन्तुष्टि नदेखिएको भन्दै यसलाई आफूहरुले ठूलो उपलब्धिको रुपमा लिएको सुनाए । उनले भने,‘सहजै रुपमा आफ्ना पँक्तीहरुलाई कन्भिन्स गरेर जाने कुरा जो देखियो, यो ठूलो उपलब्धि हो, ३२ वटा जिल्लामा एकाध ठाउँमा विवाद देखिनु सामान्य कुरा हो।’

उनले हिजो भएको उम्मेद्धवारी मनोनयनदर्तामा दुई वटा पार्टीका उम्मेद्धवारहरु एउटै पार्टीजसरी जानु नै उत्सवमय बन्नु उपलब्धिमुलक भएको टिप्पणी गरे । उनले भने,‘वाम गठबन्धनवीच दाउपेज होईन, विश्वास हुनुपर्छ, त्यो पहिलो चरणको निर्वाचनको उम्मेद्धवारी मनोनयन दर्ताले देखाएको छ।’

त्यस्तै उनले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालवीच चुनावी गठबन्धन बनाउने निर्णयले राष्ट्रिय स्वरुपमा ढाल्ने कदम भएको भन्दै त्यसको खुलेर स्वागत गरे । उनले थपे,‘अब राजपा नेपालले पनि हिमालका समस्याहरुको बारेमा बहस गर्नुपर्छ, हामी कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले त मधेशको समस्यालाई आफ्नै ठानेर आएका छौं।’

पोखरेलले एमाले नेतृत्वको सरकार बन्ने अवसर आए त्यसको नेतृत्व केपी शर्मा ओलीले गर्ने समेत स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीले नेतृत्व लिने अवसर आयो भने ओलीजीले नै गर्नुहुन्छ।’ त्यस्तै उनले ५ नम्बर प्रदेशको राजधानी दाङलाई नै बनाउनुपर्ने बताए । उनले भने,‘दाङ भुगोल र ऐतिहाँसिकताको हिसावले पनि उपर्युक्त हो, यद्धपी यसबारेमा प्रदेश सभाले निर्णय गर्छ।’

त्यस्तै उनले वाम गठबन्धनले दुई तिहाई मत ल्याउने विश्वास समेत दिलाए । उनले भने,‘हाम्रो वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा हामी सरकार बनाउँछौं, मधेशमा फोरम, राजपा नेपाल र कांग्रेसवीच चुनावी तालमेल भए रोचक प्रतिष्पर्धा हुन्छ, यसबारेमा ऋषिजीलाई थाहा छ, यो बारेमा उहाँलाई जति धेरै ज्ञान कसलाई छ र ?’

पोखरेलले पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भने,‘उनको अभिव्यक्ति नागरिक बन्न प्रयासरत देखिएको छ, राजतन्त्र फर्के आउने छैन, हुन त उनलाई अब नागरिक हुन कष्ट भैरहेको छ।’

उनले क्लबका सभापति ऋषि धमलालाई पनि पत्रकारिता छोडेर राजनीतिमा आउन शुभकामना दिए । उनले थपे,‘ऋषिजी धादिङबाट समानुपातिकमा पर्नुभएको थियो भन्ने सुनेको थिएँ, मेरो उहाँलाई शुभकामना छ।’ उनले क्लबको सभापतिमा धमलाको मात्रै नाम सुनिरहँदा कतै क्लबमा लोकतन्त्र अझै आउन नसकेको हो कि भन्ने भान हुने भन्दै ठट्टा समेत गरेका थिए ।