पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति छटपटाहट मात्रै हो : गजुरेल


काठमाडौं, ६ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले वाम गठबन्धन नयाँ कुरा नभएको भन्दै यसबाट कोही पनि आँत्तिनु नपर्ने स्पष्ट पारे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गजुरेलले मुलुकमा स्थिर सरकारको आवश्यकत्ता खड्किएकोले आफूहरुले वाम गठबन्धन गरेको स्पष्ट पारे । उनले भने,‘स्थिरत सरकारको आवश्यकत्ता खड्किएकोले नै हामीले वाम गठबन्धन बनाएका हौं, बजेट खर्च नहुने, स्थिरता नभएकोले हामी दुई पार्टीहरु एमाले र नेकपा माओवादी केन्द्रले आवश्कत्ताले एकताको पहलको थालनी भएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूहरुको एकता प्रयासबाट नेपाली कांग्रेस बढि नै आँत्तिएको आरोप लगाए । उनले थपे,‘समान विचारधारा भएका कम्युनिष्टहरु एक ठाउँमा आउनु राम्रो कुरा हो, यसबाट कोही पनि आँत्तिनुपर्ने अवस्था छैन, यो त मुलुक र जनताको भलोको लागि हो।’

गजुरेलले हिजोमात्रै सम्पन्न भएको पहिलो चरणको निर्वाचनको उम्मेद्धारी दिँदा केही बागी उम्मेद्धवारी पनि परेको उल्लेख गर्दै थपे,‘हामी दुई पार्टीहरुवीचको सहकार्य हतारमा भएकोले पनि केही त्रुटि र कमजोरी भएको होलान, तर अmझै समय छ, गम्भिर त्रुटि भएको होईन।’

त्यस्तै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भने,‘धमिलो पानीमा माछा मार्ने काम मात्रै हो, यो उनको छटपटाहट हो, निराशजनक अभिव्यक्ति हो।’ स्थानीय तहको निर्वाचन सम्पन्न भएको र अब प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुन गैरहेको खासगरी निर्वाचन सम्पन्न भएर देश निकासतर्फ गएको देखेर गरिएको छट्पटी मात्रै भएको उनको आरोप थियो ।

उनले अब बन्ने सरकार स्थिर हुने समेत विश्वास दिलाए । उनले थपे,‘निर्वाचन दुई चरणमा हुँदैछ, अब बन्ने सरकार स्थिर हुनेछ, गठबन्धनले नयाँ परिवेश बनाएको छ।’ उनले दुई दुई पटक संविधानसभाको निर्वाचन सम्पन्न भएर संविधान जारी गरेका दलहरु सक्षम भएको तर्क गरे। उनले आफूहरुले समाजवादउन्मुख संविधान जारी गरेकोले अब मुलुकलाई आर्थिक समृद्धितर्फ डोर्याउने बेला आएको स्पष्ट पारे ।