हुम्लाको व्यथा : जनप्रतिनिधी नै अभावमा, राजनीतिक दलका केन्द्रिय नेताको नजर नै पुग्दैन


६ कात्तिक, काठमाण्डौ । प्रदेशसभा र प्रतिनिधीसभाको चुनाव नजिकिदै गर्दा राजनीतिक दल, नेता र सरकार चुनावकै तयारीमा छन् । तर कर्णालीका विकट जिल्लाहरुमा नागरिकहरु खाद्यान्न अभावको समस्याले ग्रस्त छन् ।

बाजुरा जिल्ला हुँदै हुम्ला जाने बाटोसमेत दयनीय र खतरायुक्त छ । सडक बाटो नपुगेको त्यस खण्डमा पैदल यात्रा गर्नसमेत निकै कठीन हुने त्यस क्षेत्रमा पुगेर फर्किएको सामथ्र्य नेपालका पश्चिम नेपाल संयोजक केपी खनालले बताए ।
खनालको नेतृत्वमा सामथ्र्य नेपालको टोली कर्णाली अञ्चलको सबै भन्दा बिकट जिल्ला हुम्लामा राहत वितरण गरिएको थियो । राहत वितरणका लागि गएका खनालसहित युवा कवि काशिराम बजगाईं र टंक बिष्टको टोलीले त्यस क्षेत्रमा राज्यको कुनै उपस्थिती नरहेको बताए ।

“स्थानीय तहका जनप्रतिनिधी आफैँ गरिबीको चपेटामा छन् । समस्या समाधान कसरी गर्ने भन्ने कुनै जानकारीसमेत नभएको जस्तो देखिन्छ । राज्यको प्रभावकारी निकायले हुम्लाका भोका नागरिक र गरिबी देखेकै छैन ।” खनालले भने ।
गरिबीका कारण अन्धकारमय जीवन जीउन बाध्य त्यस क्षेत्रका नागरिकले ढुवानी र बाटोघाटोकोसमेत सहज सेवा पाएका छैनन् । चिनको हिल्सा जोड्ने करिडोर श्रमदानबाट निर्माण भइरहे पनि युवाहरु नहुँदा वृद्धहरु बाटो खन्ने काममा लाग्न बाध्य भएको खनालले बताए ।

सामथ्र्य नेपालले खनालको नेतृत्वमा तिहारका बेला हुम्लाको अदानचुली गाउँपालिका पुगेर करिब २ लाख ६० हजार रुपैयाँ बराबरको राहत समाग्री वितरण गरेको थियो ।
खनालले फेसबुकबाट गरेको आग्रहका आधारमा त्यस क्षेत्रका नागरिकलाई राहत वितरणका लागि विभिन्न संघसंस्थासहित विदेशमा रहेका नेपालीहरुले सहयोग जुटाएका थिए ।

कोरिया, मलेसिया, भारत, साउदी अरब, दुवै, अमेरिका लगायतका देशमा रहेका नेपालीहरुले सहयोग गरेको खनालले जानकारी दिए ।
त्यसैगरी किसान बहुउद्देश्यीय सहकारी संस्था लम्की, किसान माइक्रो फाइनान्स, क्रियटिभ लघुवित्तीय संस्थालगायतबाट सहयोग रकम जुटेको थियो ।
अदानचुली गाउँपालिकाका वार्ड १ देखि ६ सम्मका २५ घरघुरीलाई राहत वितरण गरिएको थियो । भोकै छु हुम्ला अभियान नै संचालन गरेर सामथ्र्य नेपालले राहत संकलन र वितरण गरेको हो ।