प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलना मुद्दा दायर, एक वर्ष जेल सजाय हुन सक्ने


७ कात्तिक, काठमाडौं । नेपालको प्रहरी संगठनमा राजनीतिक दबाब नहुँदा ठूला ठूला अपराधी पक्राउ पर्ने र कारबाही हुने गरेको छ । कहीँ कतैबाट दबाब नहुने हो भने ठूला अपराधिक घटनाका दोषीलाई पक्राउ गर्न प्रहरी प्रशासन सफल भएका उदाहरण प्रशस्तै छन् ।
तर यही प्रहरी प्रशासनको काम कारबाहीमा राजनीतिक अस्तक्षेप हुँदा प्रहरी संगठन निरिह बन्ने गरेको छ । यसको एउटा उदाहरण हो कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न नसक्नु ।
नेकपा माओवादी केन्द्रका नेता ढुङ्गेललाई पक्राउ गर्न नसक्दा प्रहरी प्रमुख अर्थात प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा अर्याललाई अदालतमा सशरीर उपस्थित हुन आदेश दिई न्याय प्रशासन ऐन बमोजिम एक वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ ।

साथै माओवादी नेता ढुंगेललाई पक्राउ गर्न अन्य सुरक्षा निकायको समन्वयमा नेपाल प्रहरीभित्र उच्चस्तरीय टाक्सफोर्स गठनको आदेश पनि माग गरिएको छ ।

सर्वोच्चले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न ३१ चैत २०७३ मा आदेश दिएको थियो । तर, प्रहरीले ढुंगेललाई पक्राउ गर्न कुनै तत्परता नदेखाएको रिट निवेदकको जिकिर छ ।