काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय सदस्य गगनकुमार थापालाई पार्टीको केन्द्रिय प्रवक्ता बन्नको लागि प्रस्ताव गरेका छन् ।
मंगलबार देउवाले थापालाई प्रवक्ता बन्नको लागि आग्रह गरेका हुन् । थापाका स्वकिय सचिव सविन बाबु मुडभरीले आफ्नो फेसबुक स्टाटसमा उक्त कुराको उल्लेख गरेका छन् ।
लामो समयदेखि नेपाली कांग्रेसमा प्रवक्ता तोकिएको थिएन । नेपाली कांग्रेसमा प्रवक्ता पद प्रभावशाली पद मानिन्छ । सभापति देउवाले आफूलाई प्रवक्ता बन्न औपचारिक रुपमै प्रस्ताव गर्नु भएको नेता थापाले आज काठमाडौमा आयोजित एक कार्यक्रममा जानकारी दिनुभयो ।
चुनावको मुखमा युवा नेता गगनलाई प्रवक्ता तोकेर कांग्रेसले सूचना प्रवाह प्रणाली र प्रचार रणनीतिलाई थप प्रभावकारी बनाउन लागेको हो ।
प्रवक्ता नहुँदा कांग्रेसको सूचना प्रवाह तथा प्रचार संयन्त्र प्रभावकारी हुन नसकेको पार्टीभित्रैबाट आइरहेका बेला देउवाले प्रखर वक्ता थापालाई प्रवक्ताको जिम्मेवारी दिन लागेका हुन् । गगन प्रवक्ता बनेपछि कांग्रेसको सूचना प्रवाह प्रणाली र प्रचार रणनीति चुस्त र प्रभावकारी हुने विश्वाससहित नेतृत्वले गगनलाई यो महत्वपूर्ण जिम्मेवारी दिन लागेको बुझिएको छ।
यसअघि पार्टीमा दिलेन्द्रप्रसाद बडु प्रवक्ता थिए । तर पार्टीको तेह्रौँ महाधिवेशनसँगै प्रवक्ता पद खाली रहेको थियो । प्रवक्ता बन्ने प्रस्तावलाई थापाले सकारात्मक रुपमा लिइसकेका छन् भने आम कार्यकर्ता र संचारकर्मीहरु समेत उत्साहित भएका छन् ।
काँग्रेसको राजनीतिमा छोटो समयमा नै स्थापित हुन सफल नेता थापा मुलुककै प्रखर वक्ताका रुपमा चिनिन्छन् । जनआन्दोलन–२ बाट मुलधारको राजनीतिक बृत्तमा उदाएका थापा नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिएका व्यक्ति हुन् ।
नेपाली समाजले रुचाएका थापाको जन्म वि.सं. २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा भएको थियो । पिता महेन्द्रकुमार थापा र माता रामेश्वरी थापाको कोखबाट दोस्रो सन्तानको रुपमा जन्मिएका गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो । उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए । गगन सिद्धार्थ वनस्थली स्कूल पढे ।
विद्यालयमा पढ्दा सबैले जस्तै डाक्टर र इन्जिनियसर बन्ने सपना देखेका थापाको जीवन भने न त डाक्टरी पेशामा लाग्यो न त इन्जिनियर नै बने । बरु राजनीतिमा उनको सक्रियताको परिणाम उनी अहिले डाक्टरहरुकै मन्त्री बनेर स्वास्थ्य क्षेत्रको समस्या समाधानकोलागि लागिपरिरहेका छन् ।
त्यसो त उनको परिवारमा पनि त्यही सिकाइन्थ्यो । विद्यालयमा पुग्दा पनि सोही पेशाको लागि प्रोत्साहन गरिन्थ्यो । तत्कालीन समयमा २०४६ सालको जनआन्दोलनमा पनि एकजना जिम्मेवार विद्यार्थीको हैसियतले गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे । तर, त्यो उनको जागरुकताको परिणाम मात्रै थियो न कि राजनीतिमा दीर्घकालसम्म लाग्ने उनको इच्छा ।
राजनीतिमा प्रवेश
विद्यालय जीवनमा त्यहाँको वातावरण र पारिवारिक दबाबका कारण उनले फरक पेशा अँगालेको भएपनि क्याम्पस तहको अध्ययन सुरु भएसँगै उनको लक्ष्यले फरक दिशा लिन थाल्यो । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि थापा विस्तारै विद्यार्थी संगठनमा लागे नेपाल विद्यार्थी संघको तर्फबाट । उनको राजनीतिक सुरुवात नेविसंघको सदस्यबाट भयो । वि सं. २०५१ सालमा नेपाल विद्यार्थी संघकै तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका उनको सम्भवतः पहिलो जननिर्वाचित पद नै त्यही हुनसक्छ ।
त्यसपछि उनले राजनीति मार्फत नै अघि बढ्ने अठोट गरे र त्यससँगै डाक्टर र इन्जिनियर बन्ने सपना एकाएक परिवर्तन हुन थाल्यो । उनको यात्रा एकाएक उच्च तहमा पुग्यो उनी त्रिचन्द्र स्ववियुमा सदस्यबाट सचिव हुँदै तेस्रो कार्यकालमा सभापति बन्न सफल भए ।
समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरेका थिए । तत्कालीन समयमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गणतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्।
संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता एवं बर्तमान सरकारका शहरी बिकासमन्त्री अर्जुन नरसिंह केसीकी छोरी अञ्जना के.सीसँग २०६५ वैशाखमा विवाह गरे । उनका दुई छोरी गार्गी र जियाना छन् ।
उता, वि सं २०५५ सालमा स्ववियु सभापति भएपछि उनी केन्द्रीय राजनीतिमा प्रवेश गरे, नेविसंघको केन्द्रीय राजनीतिबाट उनको राजनीति क्याम्पस तहबाट केन्द्रीय तहमा पुग्यो । उनी नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदै महामन्त्री बने । विविध कारणले नेविसंघको अध्यक्ष उठ्न नपाएका थापा महामन्त्रीबाट नै सीधै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरे । १२ औ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेका थापा तेह्रौं महाधिवेशनमा भने आफ्नै ससुरा अर्जुननरसिंह केसी र बिपी पुत्र डा शशांका कोईरालासँग महामन्त्रीमा चुनावी मैदानमा उत्रिए । उनको त्यो उम्मेदबारीलाई कसैले दुस्साहस भने, कसैले अति महत्वाकांक्षा भने र समग्रमा महाधिवेशनलाई नै रोमाञ्चीत र आफु केन्द्रीत बनाई दिए । त्यो निर्वाचनबाट उनी गणितीय हिसावले उनी अगाडी नदेखिएपनि राजनीतिक रुपमा भने उनीले ठुलै फड्को मार्न भ्याए ।
जीवन धरापमा राखेर राजनीतिक संघर्ष
उनी वि सं २०४६ को आन्दोलनबाट राजनीतिमा अप्रत्यक्ष रुपमा लागेका थिए । उनी त्यतिबेला प्रहरीको हिरासतमा बस्नु परेन । थापा जीवनमा पहिलो पटक वि. सं. २०५१ सालमा नेविसंघको तर्फबाट बन्दको आह्वान गर्दैगर्दा तत्कालीन अल्पमतको सरकारले उनलाई ८÷१० पटक जेल जानु परेको थियो । वि सं. २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वको सरकारले उनी सहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो । त्यसपछि उनको अधिकांश समय सडक आन्दोलनमा बित्यो । माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन । उनी पक्राउ पर्दै छुट्दै गरे । लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर वक्तृत्व अनि लोकप्रिय छवि जताततै फैलिदै गयो । हुँदा हुँदै उनी लोकतन्त्र कै नायक बन्न सफल भए । तिनै थापा नेपाली कांग्रेसको भावी सभापतिको रुपमा पनि हेर्न थालिएको छ ।
शाही शासनको बेलामा अर्धभुमिगत शैलीमा काठमाडौंमा रहेर आन्दोलनमा सक्रिय रहेकै बेलामा थापालाई प्रहरीले लैनचौरको विद्यार्थी नेता सन्देश अधिकारीको घरबाट विद्यार्थी नेताहरु सुवोध आचार्य सहितलाई नियन्त्रणमा लिएको थियो । त्यतिबेला सरकारले गगनलाई राजद्रोहको मुद्दा लगाएको थियो । अन्तर्राष्ट्रिय मानवअधिकारीवादी संस्था एम्नेष्टी इन्टरनेशनलले थापालाई सो समयमा आस्थाको वन्दी घोषणा गरेको थियो । नेपाली काँग्रेस संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरिरहँदा थापा सडकमा गणतन्त्रको नारा लगाउने मात्र होइन त्यस्तो समुहको नेतृत्व हाकी रहेका थिए । त्यस समयमा उनलाई सञ्चार माध्यमले पनि लोकतन्त्रकै नायकको रुपमा चित्रित गरेको थियो । देशको समसामयिक बिषयका साथै पार्टी भित्र पनि आफूलाई उचित लागेको विषयमा प्रष्ट रुपमा आवाज उठाउने थापा चुनौति मोल्न सक्ने नेताका रुपमा परिचित छन् ।
राज्यको पदमा गगन थापा
थापा पहिलो संविधानसभामा समानुपातिक प्रतिनिधित्वको आधारमा सभाषद् निर्वाचित भए । दुई बर्षका लागि निर्वाचित थापाले संविधान सभाको म्याद थपेपछि भने सभासद् भए वापत आउने कुनैपनि आर्थिक लाभ लिएनन् । वाँकी दुई बर्ष संविधान सभाबाट पाउने आर्थिक लाभ विना संविधान सभाको काम गर्ने उनी एक्ला सभासद् भए । त्यतिबेला संविधान सभा ६०१ जनाको जम्बो थियो । त्यसपछि, दोस्रो सविधान सभामा उनी तत्कालिन माओवादी नेता तथा बर्तमान उपराष्टपति नन्दकिशोर पुनलाई पराजित गर्दै काठमाडौ क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित भए । सांसद् निर्वाचित भएपछि उनी कृषि तथा जलस्रोत समितिका सभापतिको रुपमा निर्वाचित भए । समितिको सभापतिको प्रभावशाली भूमिका निवाह गरेका थापाले नेपाल सरकारको स्वास्थ्यमन्त्री बनेपछि समितिबाट राजीनामा दिएका हुन् ।
स्वास्थ्य मन्त्री भएपछि उनले स्वास्थ्य क्षेत्रमा ठुलै हलचल ल्याएका छन् । स्वास्थ्य विमाको कानुनी व्यवस्था गर्ने, स्वास्थ्य सेवा सुधार गर्ने, स्वास्थ्य संवन्धी दर्जनौ ऐन कानुनहरु बनाउने, स्वास्थ्य चेतनामा जागरण ल्याउने, स्वास्थ्य सेवालाई निःशुल्क र सस्तो बनाउने काममा धेरै दिर्घकालिन कामहरु गरेका थिए ।
स्वास्थ्य मन्त्री हुदा थापाले हरेक सरकारी अस्पतालले फार्मेसी चलाउनुपर्ने नियम बनाउनुका साथै निःशुल्क वितरण हुने औषधीको टेण्डर प्रक्रिया चाडै नै शुरु गर्ने, अर्को बर्षको टेन्टर प्रक्रिया पुरा नहुदा सम्म पुरानै कम्पनीले औषधी आपुर्ति गर्नु पर्ने व्यवस्था गराए, जस्का कारण औषधी आपुर्ति प्रक्रियामा ग्याप नुहने सुनिश्चीतता गराएका छन् । संघिय प्रणालीमा स्वास्थ्य सेवा र संरचना प्रतिवेदन बुझाउन उच्चस्तरीय समिति गठन गर्ने लगायतका काम पनि गरेका छन् । त्यस्तै, विशिष्ट योगदान गरेका ब्यक्तिलाई उपचारका लागि वितरण हुने गरेको करोडौं रुपैयाँलाई बढीमा १५ लाख रुपैयाँमा झार्ने गरि कानुन संशोधन गरेका छन् । यस्तै मृगौलाका विरामीलाई सवै डायलासिस निःशुल्क गराउने व्यवस्था पनि उनको कार्यकालमा भएको छ ।
उनले आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट बञ्चित हुन नपर्ने प्रणाली लागू गर्न भन्दै ३ मन्त्रको थालनी गरेका थिए । मन्त्री थापाका ३ मन्त्रमा‘संविधानमा उल्लेख भएको स्वास्थ्यका बुँदा कार्यान्वयन, आधारभूत स्वास्थ्य सेवा सुधार र नीतिगत सुधार गरेका थिए ।
त्यस्तै, अति विशिष्ट व्यक्तिहरूको उपचारको लागि सरकारले दिने खर्चको विषयमा पनि नयाँ कार्यविधि बनाएर कार्यविधि मन्त्रिपरिषद्मा समेत पठाईसकेका छन् । त्यस्तै, मन्त्री थापाले अस्पताल सुधार आफ्नो प्राथमिकता भएको बताउँदै अस्पताल छिरेपछि कुनै पनि विरामीले कुनैकारणले पनि उपचार नगरी फर्कनु पर्ने अवस्था नरहने व्यवस्था गर्ने घोषणा गरेका छन् । त्यसैको शिलशीलामा उनकै निर्देशनमा २ बजेसम्म मात्र सञ्चालन हुने वहिरङ्ग सेवालाई बढाएर ५ बजेसम्म सञ्चालन गराएका थिए । सबै केन्द्रीय र अञ्चलहरुमा ओपिडिका लागि टोकन सिस्टम लागू गराएका थिए ।
लागूऔषध कारोवारमा संलग्न २ वटा औषधि उद्योगको जिएमपी रद्ध गरिएको छ । यसैगरी चिकित्सा उपकरण तथा सामाग्रीहरुको गुणस्तर नियमनका लागि निर्देशिका बनाए । यसैगरी मन्त्री थापाले बिना दर्ता सञ्चालनमा रहेका देशभरका औषधि पसल, ल्याव, क्लिनिक बन्द गराएका थिए । यसैगरी अस्पतालमा प्रयोग हुने उपकरण तथा सामाग्रीहरुको गुणस्तर सम्बन्धी निर्देशिका लागू गरेका थिए ।
सधै परिवर्तनका नेतृत्वकर्ता
सांसद भएयता उपत्यकाका सांसदहरुसँग मिलेर ’लिभेवल काठमाडौं’ अर्थात बस्न योग्य काठमाडौं उपत्यका अभियान सञ्चालन गर्दै आएका थापा तत्कालिन समयमा पार्टी नेतृत्वले आन्दोलन हाँक्दै गर्दा सडकमा भने गगन थापा सहितका विद्यार्थी र तरुण यूवा नेताहरुले आन्दोलनको मोर्चा सम्हाल्थे । आन्दोलनमा झै हरेक जनपक्षीय निर्णयहरुमा मन्त्री थापालाई नै हामी अग्र मोर्चामा देख्न सक्दछौं । पछिल्लो समय अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्ध महाभियोग प्रस्तावको सवालमा पनि सबैभन्दा पहिले डा. गोविन्द केसीको माग अनुरुप संसद्मा सार्वजनिक महत्वको प्रस्ताव थापाले नै दर्ता गराए । महाभियोगको पक्षमा काँग्रेस खुल्न नसकिरहेका बेलापनि उनले नै काँग्रेसलाई त्यस तर्फ डोर्याएर महाअभियोग लगाई छाडे ।
मुलुकमा राजतन्त्रको विपक्षमा कसैले पनि आवाज उठाउन नसकिरहेको बेलामा गणतन्त्रको आवाज उठाएर हिँड्ने गगन मुलुकका हरेक परिवर्तनगामी काममा अग्रप्रक्तिमा हिँड्ने व्यक्ति हुन् । उनी कुनै निश्चित क्षेत्र र विधा मात्रै होईन कि मुलुकको समग्र क्षेत्रको परिवर्तनगामी कदममा जनताको चाहाना बुझेर हिँड्ने एक दूरदर्शी नेता हुन् ।




प्रतिक्रिया