‘प्रदेश सभाको निर्वाचन पाँच वर्षको लागि रोक्नुपर्छ’
काठमाडौं, ७ कार्तिक । युवा प्रर्वद्धक एवम् विकासविद दिपेन्द्र कँडेलले काठमाडौं उपत्यकालाई समृद्ध महानगर बनाउने भन्दै आजैबाट आफू राजनीतिमा आएको घोषणा गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा विशेष पत्रकार सम्मेलन गर्दै उनले आफू आजैबाट राजनीतिमा होमिएको खुलासा गरेका हुन् । यद्धपी उनले ‘पूरानै राजनीतिक शक्तिबाट विकास संभव छ’ भन्ने विश्वास बोकेका छन् । कंडेलले पछिल्लो समय सम्पन्न भएको स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै काठमाडौं महानगरपालिकालाई समृद्धिशाली बनाउने भीजन समेत सार्वजनिक गरेका थिए ।
उनले ‘यदि म काठमाडौं महानगरको मेयर भैदिएको भए..’ भन्ने नामक बुकलेट समेत सार्वजनिक गरेका थिए । कँडेल पछिल्लो समय मुलुकको आर्थिक समृद्धिको लागि केन्द्रित रहेर विभिन्न दलका नेतृत्वसँग भेटवार्तामा समेत व्यस्त रहेका छन् ।
उनले कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । राजनीतिमा आउनुपुर्व नै उनले नेपालको विकास पूरानै दलबाट संभव छ भन्दै अभियान नै चलाएका थिए ।
पत्रकार सम्मेलनमा उनले २८ बुँदे राष्ट्रिय स्तर र २६ बुँदे स्थानीय स्तरका नीतिहरु समावेश गरेर विशेष राजनीतिक प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन् । जसमा मुख्यतयः काठमाडौं उपत्यकाबाट कम्तिमा २४ देखि २६ लाख मानिसहरुलाई मोफसलमा पठाउने रहेको छ । त्यस्तै, राजनीतिक रुपमा प्रदेशको चुनाव पाँच देखि १० वर्षसम्मको लागि रोक्नुपर्ने रहेको छ ।
उनले अहिले केन्द्रको शक्ति स्थानीय तहमा गैसकेकोले स्थानीय तहलाई प्रभावकारी रुपमा काम गर्न दिनुपर्ने बेलामा प्रदेशको चुनावमा अल्झिँदा विकासको गतिमा ‘ब्रेक’ लाग्ने खतरा भएकोले कम्तिमा पनि पाँच वर्षको लागि प्रदेशको निर्वाचन स्थगित् गर्नुपर्ने अवधारणा अघि सारेका हुन् ।
कँडेलले यदि प्रदेशको निर्वाचन तत्काल नरोक मुलुकमा अर्को ठूलो आन्दोलन हुने खतरा औंल्याएका छन् । उनले भने,‘प्रदेश सभाको निर्वाचनमा हामी अहिल्यै जाँदाखेरि आर्थिक समृद्धिको ढोका बन्द हुने अवस्था आउँछ, त्यसैले जनताले यो आक्रोशलाई ठूलो आन्दोलनको स्वरुप दिने संभावना छ, त्यसैले सरकार र प्रमुख दलहरुले समझादारीमै प्रदेशको निर्वाचन कम्तिमा पाँच वर्षको लागि स्थगित् गर्नुपर्छ, यसमै मुलुक र जनताको हित हुन्छ।’




प्रतिक्रिया