८ कात्तिक, तनहुँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट आफूले टिकट नपाए जनतामाझ जाने चेतावनी दिएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उठ्ने भनिएको उक्त क्षेत्रमा आफूले टिकट पाउनु पर्ने दाबी जोशीले गरेका हुन् । बुधवार विहान पत्रकारहरुसँग कुरा गर्दै नेता जोशीले पौडेलले उक्त क्षेत्रमा चुनाव जित्न नसक्ने ठोकुवासमेत गरे ।
‘‘पार्टीको वरिष्ठ नेता भइसकेका व्यक्तिले अरु कुनै क्षेत्रबाट चुनाव लड्न सक्नुहुन्छ । यो क्षेत्र स्वयं पौडेलको लागि गाह्रो छ । सबैलाई चित्त बुझाएर अघि बढ्न सकेमात्र कांग्रेसको जित हुनसक्छ ।’’ जोशीको भनाई छ ।
उक्त क्षेत्र आफ्नो प्रभाव क्षेत्र रहेकोले दाबी गर्दै पार्टीले अन्तिमसम्म आफूलाई नै टिकट दिनेमा आफू विश्वस्त रहेको भन्दै जोशीले पौडेललाई फकाउने प्रयास पनि गरे । आफूलाई टिकट नदिए आफू जनताबीच जाने चेतावी दिदै जोशीले भने ‘टिकट नपाए जनताको भावना समेट्न जनतामाझ जाने छु ।’
लोकतान्त्रिक गठबन्धनप्रति असन्तुष्टी देखिएका जोशीले नीतिगतभन्दा पनि सत्ताप्राप्तिको लागि कांग्रेसले विभिन्न दलसँग गठबन्धन गरेको आरोप लगाए ।
गठबन्धनले आगामी निर्वाचनमा नराम्रो नतिजा ल्याउने अनुमान जोशीको छ ।
राप्रपा, राप्रपा प्रजातान्त्रिक र मधेसकेन्द्रित दलहरुसँगको गठबन्धन कांग्रेसका लागि घातक हुने उनको दाबी छ ।




प्रतिक्रिया