९ कात्तिक, काठमाण्डौ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालको भनाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ । ढकालले नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलासँग कुरा गरेका थिए ।
“सम्मानित सर्वोच्च अदालतको पछिल्लो निर्णय के भएको छ, त्यो विषयमा आयोगमा थप जानकारी प्राप्त भएको छैन । जानकारी प्राप्त भएपछि आयोगले अदालतको सम्मान हुने गरी आवश्यक, उचित निर्णय गर्छ ।
निर्वाचन आयोगले कार्यदलको प्रतिवेदनमाथि छलफल गरेको अवस्था छ । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नको लागि मतपत्रको पूर्वनिर्धारित संख्याभन्दा थप गर्न सक्ने नसक्ने अवस्था बारेमा उल्लेख भएको छ । त्यसकोसमेत आधारमा आयोगले निर्णय गर्ने प्रक्रियामा रहेको छ । सर्वोच्चले दिएको पछिल्लो आदेशको सन्दर्भमा आदेशमा उल्लेख भएको विषय प्राप्त भएपछि छलफल हुन्छ ।
निश्चित रुपमा सर्वोच्च अदालतको आदेशलाई सबैले सम्मान गर्नुपर्छ । आयोगको पनि त्यसमा फरक मत रहदैन । अदालतको निर्णयलाई निर्वाचन आयोगले नमान्ने भन्ने प्रश्न नै हुँदैन ।
दुईवटा मतपत्र छाप्ने विषयमा अहिले केही भन्न सकिदैन । आयोगले निर्णय गर्नुअघि कर्मचारीको हैसियतले अहिले मैले केही भन्न सक्दिन ।
मंसिर १० गते र २१ गतेको चुनाव सर्ने वा नसर्ने भन्ने विषयमा आयोगले आधिकारिक निर्णय गरेर सार्वजनिक गर्छ । अदालतको फैसला प्राप्त भएपछि आयोगले निर्णय गर्छ ।
आयोगले देशमा भएको छपाईसम्बन्धी स्रोत, साधन र समयसिमाको प्रयोग गरेर आवश्यकता र क्षमताअनुसार आफ्नो काम अगाडि बढाउँछ । कानुनसम्मत तरिकाले काम गरेर तोकिएको समयमा निर्वाचन गराउन आयोग प्रतिबद्ध छ ।
सर्वोच्च अदालतले तीन दिनभित्रमा मागेको लिखित जवाफ लिएर जान्छौँ । अदालतको फैसला र के जवाफ मागेको हो भन्ने विषय औपचारिक रुपमा प्राप्त भएपछि सोही अनुसार जवाफ लिएर जान्छौँ ।”




प्रतिक्रिया