न्यायालयले जनमत र लोकतन्त्रको मर्म बुझ्नुपर्छ : वर्षमान पुन


१० कात्तिक, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सर्वोच्च अदालतको मतपत्र दुईवटा बनाउनुपर्छ भन्ने आदेशको सम्मान गर्नुपर्ने भए पनि दूईप पटक दुईथरी आदेश दिनुले निर्वाचन विथोल्न खोजिएको हो कि भन्ने आशंका उब्जिएको बताएका छन् ।

पर्दापछाडीबाट चुनाव सार्ने खेल भएको हुन सक्ने बताएका पुनले त्यसको तथ्यहरु पछि आउलान भन्दै चुनाव समयमा नै गराउन सबै प्रतिवद्ध हुनुपर्ने बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पुनले चुनाव तोकिएको समयमा नै गराउनका लागि आफ्नो पार्टीले सबै पक्षलाई सचेत गराइएको बताए ।

नेता पुनले सर्वोच्च अदालतले कानुनी व्याख्या गर्न मिले पनि लोकतन्त्रलाई कमजोर पार्ने गरी आशंका पैदा गर्न नहुनेमा जोड दिए । सबै निकायले सर्वोच्च अदालतको आदेश मान्नुपर्ने बताएका पुनले न्यायालय स्वयम् पनि जनमतलाई सम्मान गर्न सचेत हुनुपर्ने बताए ।

माघ सात गतेभित्र संसद र प्रदेशको निर्वाचन गर्नुपर्ने भएकाले एकै चरणमा चुनाव गर्नु परेको स्मरण गराउँदै नेता पुनले निर्वाचन आयोगले पनि अलग अलग मतपत्रको व्यवस्था गरेको जिकिर गरे । “यसमा कुनै कानुनी समस्या आउँछ जस्तो लाग्दैन ।” पुनले भने ।
“दुईवटा मतपत्र छ भनेर निर्वाचन आयोगले भनिसकेको छ । त्यसलाई हामीले विश्वास गर्नुपर्छ ।” पुनको भनाई थियो ।