आफ्नै नेता/कार्यकर्तासँग देउवाले भने,‘चुनाव हुन्छ, पार्टीले चुनाव हारोस तर देशले जित्छ’


काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै यसप्रति शंका नगर्न आग्रह गरेका छन् ।

पछिल्लो समय सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि बेग्लाबेग्लै मतपत्र छाप्नको लागि आदेश दिएसँगै निर्वाचन सर्छ कि भन्ने आंशकाहरु उत्पन्न भएपछि प्रधानमन्त्री देउवाले यस्तो धारणा सार्वजनिक गरेका छन् ।

पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको संक्षिप्त कुराकानीमा उनले निर्वाचन हुने भन्दै यसबाट एक ईन्चपनि दायाँबायाँ नहुन भन्दै पूर्ण रुपमा निर्वाचनको तयारीमा होमिनको लागि आग्रह गरेका छन् ।

देउवालाई भेटेका एक नेताले देउवाको भनाई उद्धृत गर्दै भने,‘जसले जे भनोस् भनोस्, म घोषित मितिमै चुनाव गराउँछु, पार्टी हारे हारोस्, म चुनाव गराउँछु, त्यसमा कुनै सम्झौता हुँदैन, देशले जित्नुपर्छ, मैले चुनाव हारेर केही हुँदैन्। कांग्रेसले हारे पनि केही फरक पर्दैन्, चुनाव गर्नु नै देशको जित हो।’

शुक्रबार विहान पत्रकार ऋषि धमलासँगको नेपाली बहसमा श्रममन्त्री समेत रहेका कांग्रेस नेता फर्मुल्लाह मन्सुरले भने,‘ढुक्क हुनुहोस, देउवाजी प्रधानमन्त्री बन्नु भनेको नै चुनाव गराउनको लागि हो, चुनाव समयमै हुन्छ।’