१० कार्तिक, काठमाण्डौ । झापाको बिर्तामोडमा अनिश्चतकालीन कर्फ्यु लगाइएको छ ।
अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए । यस क्रममा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो । विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।
शुक्रबार दिउँसो साढे १ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको हो । पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कर्फ्यु जारी गरिएको छ ।
दसैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए ।
प्रहरीले ३६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । झडपमा आधा दर्जनभन्दा बढी घाइते भएका छन् । अहिले पूर्व पश्चिम राजमार्ग बन्द छ । विर्तामोडका सबै पसलहरु बन्द छन् ।
जिल्ला प्रशासन कार्याललयले अहिले राजनैतिक दल र पीडित परिवार राखेर वार्ता गरिरहेको छ ।




प्रतिक्रिया