कात्तिक ११, काठमाण्डौ । तनहुँ क्षेत्र नम्बर एकमा कांग्रेसका तर्फबाट आफुले टिकट पाउनुपर्ने माग गर्दै आएका गोविन्दराज जोशी र उनका पक्षधरले सोही क्षेत्रमा रामचन्द्र पौडेललाई उम्मेदवार बन्न नदिने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसको संसदीय बोर्डले त्यस क्षेत्रबाट पौडेललाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरिसकेपछि पनि जोशी पक्षधर पौडेलविरुद्ध खुलेरै लागेको हो ।
कार्तिक ९ गते बसेको नेपाली कांग्रेस क्षेत्र नं १ को क्षेत्रीय भेलाको निर्णय भन्दै जोशी पक्षधले तनहुँ एकबाट जोशी नै आधिकारिक उम्मेदवार भएको दाबी गर्दै आएको छ । अर्कोतिर पार्टीको निर्णयविरुद्ध लागेका जोशी पक्षधरलाई वाम गठबन्धनसँग मिलेर पौडेललाई हराउने खेलमा लागेको आरोप लगाइएको छ ।
जोशीले यसअघि दोस्रो संविधानसभाको चुनावमा पनि क्षेत्र नम्बर १ बाट कांग्रेसका उम्मेदवार शंकर भण्डारीलाई हराउन एमालेसँग मिलेको आरोप लागेको थियो ।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ का क्षेत्रीय सभापति उदयराज गौलीको सहयोगमा जोशी रामचन्द्र पौडेलविरुद्ध लागेका हुन् ।
क्षेत्र नं १ को कार्यकर्ताहरुको भेलाले गरेको निर्णय भन्दै जोशी पक्षधरले कार्यकर्ताहरुको भावना अनुसार नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री श्री गोविन्दराज जोशीलाई क्षेत्र नं १ को नेपाली कांग्रेसको आधिकारीक उम्मेदवार वनाउने निर्णय गरेको उल्लेख गरिएको छ ।
उक्त निर्णय पार्टी केन्द्रिय सभापति शेरबहादुर देउवालाईसमेत बुझाइएको छ ।
देउवालाई बुझाइएको निर्णयमा भनिएको छ । “नेपाली कांग्रेसका पुर्व सह महामन्त्री श्री गोविन्द राज जोशी लाई क्षेत्र नं १ को नेपाली कांग्रेसको आधिकारीक उम्मेदवार वनाउने निर्णय भएकोले कांग्रेसको चुनाव चिन्ह उहाँलाई प्रदान गर्न नेपाली कांग्रेस केन्द्रीय समितिलाई अनुरोध गर्ने र यो निर्णयको विपरीत कसैले कांग्रेसको नाममा चुनाव चिन्ह लिई मनोनयन दर्ता गराएमा त्यसको प्रतिरोध गरी श्री गोविन्द राज जोशीले निर्वाचनमा मनोनयन दर्ता गर्ने र पार्टिका सवै कार्यकर्ताले उहालाई सहयोग गर्ने निर्णय गर्दछ ।”




प्रतिक्रिया