काठमाडौं, ११ कार्तिक । अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले मुलुकलाई अब विकास र समृद्धिको यात्रामा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि संविधान कार्यान्वयन हुन्छ, त्यसपछि मुलुकमा स्थायित्व र विकास हुन्छ ।’
दिपेन शाह फाउण्डेशनको सहयोगार्थ शिखर नेपालले शनिबार आयोजना गरेको भीष्मराज फुलाराको उपन्यास ‘टुहुरो कुण्डली’ को विमोचन एवम् श्रष्टा सम्मान–२०७४ कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले यस्तो बताएका हुन् ।
संस्थाका अध्यक्ष शेखर खनालको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘चुनाव भएपछि मुलुक आर्थिक समृद्धिको यात्रामा अघि बढ्छ, अब मुलुकलाई विकासको पथमा डोर्याउनुपर्छ, निर्वाचनपछि सबै दलहरुको ध्यान त्यतातिर केन्द्रित गर्नुपर्छ।’
उनले देशले अब युवाहरुलाई स्वदेशमा रोजगारी सिर्जना गरेर विदेश पलायनबाट युवाहरुलाई रोक्न सक्नुपर्नेमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । रेग्मीले थपे,‘हाम्रो देश प्राकृतिक स्रोत र साधनहरुले भरिपूर्ण छ, यहाँ समृद्धिका अथाह संभावनाहरु छन्, त्यसैले अब मुलुकमा रोजगारी सिर्जना गर्नतिर ध्यान दिनुपर्छ।’
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पनि आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको दुईवटा निर्वाचन सम्पन्न भएपछि मुलुक आर्थिक समृद्धिको यात्रातर्फ अघि बढ्ने विश्वास दिलाए ।

त्यस्तै धमलाले अबको चुनावमा मुलुकको विकास र जनताको काम गर्न सक्ने उम्मेद्धवारलाई विजयी गराउनुपर्नैमा जोड दिँदै आम मतदाताहरुले यसबारेमा विशेष ध्यान पुर्याउनुपर्ने बताए । उनले अहिले विश्वकै ध्यान नेपालतिर भएको भन्दै तोकिएकै मितिमा चुनाव सम्पन्न भएपछि मुलुककमा राजनीतिक स्थायित्व कायम हुने पनि बताए ।
धमलाले दिपेन शाहलाई विश्वकै होचो मान्छेको रुपमा गिनिज बुकमा नाम लेखाउन आफ्नो तर्फबाट जस्तोसुकै सहयोग पुर्याउन तयार रहेको भन्दै मिडियाको तर्फबाट बहस सुरु गरिसकेको समेत जनाए ।




प्रतिक्रिया