कम्युनिष्टहरुले अधिनायकवाद ल्याउनका लागि तीव्र ध्रुवीकरण गरेको देउवाको आरोप


काँस्की, ११ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र नेकपा माओवादी केन्द्रवीचको वाम गठबन्धन अर्थात कम्युनिष्टहरुले अधिनायकवाद ल्याउनका लागि तीव्र ध्रुवीकरण गरेको आरोप लगाएका छन् ।

उनले भने,“नेपालका कम्युनिष्टहरुले तिव्र ध्रुवीकरण गरेर राष्ट्रियता कमजोर पार्ने प्रयास गरिरहेको छन्, हामी यो प्रयासलाई असफल पारेरै छोड्छौं।” शनिबार पोखराको प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले यस्तो आरोप लगाएका हुन् ।

उनले तीव्र ध्रुवीकरणले राष्ट्रियता कमजोर हुने भन्दै चिन्ता व्यक्त गरेका थिए ।  उनले डर र त्रासबाट मुक्त समाज कांग्रेसले मात्रै निर्माण गर्न सक्ने र कम्युनिष्टहरुले साम्यवादसम्म पुग्ने उद्देश्य राखेर ध्रुवीकरण गरिरहेको र त्यसले अधिनायकवाद भित्र्याउने भन्दै डर त्रासमुक्त समाज निर्माणका लागि अबको निर्वाचनमा कांग्रेसलाई जिताउन अपिल समेत गरे ।

एमाले र माओवादी केन्द्रप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका देउवाले आगामी मंसीर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पार्टी पार्टीवीचको लडाईं मात्रै नभएर लोकतन्त्र, प्रजातन्त्र र जनताको शासन स्थापना गर्ने लडाईं भएको स्पष्ट पारे ।