१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनोट शुरु गरेको छ । माओवादीसँगको सिट बाँडफाँट अधिकांश स्थानमा टुंगिएसँगै प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनौट सुरु भएको हो ।
एमालेले सिट बाँडफाँड टुंगिएपछि समानुपातिकको बन्द सूचीमा हेरफेर गरेर उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ । बन्द सूचीमा हेरफेर गरेर उम्मेदवारको अन्तिम सुची आजै निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।
दोस्रो चरणमा चुनाव हुने निर्वाचन क्षेत्रमध्ये इलाममा झलनाथ खनाल र सुवास नेम्वाङ उम्मेदवार बन्नेछन् । त्यस्तै झापा ४ मा एलपी साँवा र ५ मा केपी शर्मा ओली उठ्नेतछन् ।
मोरङ २ मा ऋषिकेश पोखरेल, ३ मा भानभक्त ढकाल र ६ मा लालबाबु पण्डितलाई उम्मेदवार बनाउने तयारी एमालेको छ । त्यस्तै धनकुटामा राजेन्द्र राई उम्मेदवार बन्ने भएका छन् भने उदयपुर १ मा मन्जु चौधरी र २ मा जगन्नाथ खतिवडा उम्मेदवार बन्नेछन् ।
प्रदेश ३ को सन्दर्भमा एमालेले काभ्रे २ मा गोकुल बास्कोटा र भक्तपुर २ मा महेश बस्नेतको नाम तय गरिसकेको छ । त्यस्तै काठमाडौं २ मा माधव नेपाल, ३ मा कृष्ण राई, ४ मा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल र ७ मा रामवीर मानन्धरको विषयमा छलफल भइसकेको छ ।
केही समयअघि मात्र नेपाल प्रहरीको डिआइजी पदबाट राजिनामा दिएका नवराज सिलवाललाई एमालेले ललितपुर क्षेत्र नम्बर १ बाट उठाउने तयारी गरेको छ । राजिनामा दिएलगत्तै सिलवाल एमालेमा प्रवेश गरेका थिए । त्यस्तै ललितपुर २ मा कृष्णलाल महर्जनले टिकट पाउने भएका छन् । चितवन १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने भएका छन् ।
प्रदेश ४ अन्तर्गत तनहु १ मा किसानकुमार श्रेष्ठ र २ मा केदार सिग्देल उम्मेदवार बन्ने भएका छन् । त्यस्तै कास्की १ मा खगराज अधिकारी र २ मा रविन्द्र अधिकारी उम् बन्नेछन् । स्याङजा २ मा पद्मा अर्यालको सन्दर्भमा सहमति भइसकेको छ । नवलपपुर २ मा पार्टी अध्यक्ष तिलक महत उम्मेदवार बन्नेछन् ।
प्रदेश ५ को नवलपरासी १ मा हृदयेश त्रिपाठी, रुपन्देही २ मा बिष्णु पौडेलको निर्णय भइसकेको छ । पाल्पा १ मा दलवहादुर राना उम्मेदवार बन्नेछन् भने २ मा ठाकुर गैरेको नाम अघि सारिएको छ ।
गुल्मी १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्ण विष्टको निश्चित भइसकेको छ भने दाङ १ मा मेटमणि चौधरी उम्मेदवार बन्नेछन् । कपिलवस्तु २ मा बृजेशकुमार गुप्ता उम्मेदवार बन्ने भएका छन् । त्यस्तै बर्दिया १ मा बामदेव गौतम र बाँके २ मा पशुपतिदयाल मिश्रको निश्चित भइसकेको छ ।
प्रदेश ६ को सुर्खेत १ मा धु्रवकुमार शाही र २ मा यमलाल कँडेल उम्मेदवार बन्ने भएका छन् । प्रदेश ७ को कैलाली १ मा गरिमा शाह, २ मा झपट रावल र ५ मा नारदमुनी राना उम्मेदवार बन्नेछन् ।
त्यस्तै डोटीमा प्रेम आले, अछाम १ मा भीम रावलको पनि निर्णय हुने प्रक्रियामा रहेको छ ।
पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र तय हुन बाँकी छ ।




प्रतिक्रिया