गोविन्दराज जोशीलाई समेटेर लैजाने विषयमा कांग्रेसभित्र छलफल जारी, पार्टीको निर्णय नमाने कारबाही गरिने


कात्तिक १२, काठमाण्डौ । नेपाली कांग्रेसको संस्थागत निर्णयविरुद्ध उत्रिएको भन्दै गोविन्दराज जोशीविरुद्ध कारबाही गर्ने तयारी भइरहेको छ । तनहुँ क्षेत्र नम्बर १ बाट संसदीय वोर्डको बैठकले रामचन्द्र पौडेललाई उम्मेदवार बनाए पनि उक्त निर्णय नमान्ने भन्दै जोशीले बागी उम्मेदवार दिने बताइरहेका छन् ।

समानुपातिक सूचिको पहिलो ५ नम्बरभित्र समावेश गरेर मिलाउन खोज्दा पनि नमानेपछि जोशीलाई कारबाही गर्नका लागि तनहुँ कांग्रेस एकजुट भएका हुन् ।
सम्भव हुँदासम्म सम्मानका साथ समावेश गर्ने विषयमा पटक पटक पार्टी नेतृत्वले प्रयास गर्दा पनि आडान लिएपछि जोशीलाई कारबाही गर्ने तयारी भएको हो ।

यसैबिच जोशीलाई स–सम्मान पार्टीमा स्थान दिनका लागि वरिष्ठ नेता पौडेलले विभिन्न विकल्प खुला राखेका छन् । जोशी सहमत भएमा राष्ट्रियसभामा लैजानेदेखि केन्द्रिय समितिमा लैजाने विषयमा पौडेल सकारात्मक भएका हुन् । १६ गतेसम्ममा कुनै पनि विकल्पमा सहमत नभएर आफ्नै अडान राखेमा जोशीलाई कारबाही गर्ने विषयमा शीर्ष तहमासमेत छलफल भइरहेको छ ।

तनहुँ क्षेत्र नम्बर १ मा रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएमा दुवै नेताले हार्ने निश्चत छ । यति जान्दाजान्दै पनि जनताको साथ छ भन्दै भ्रम फैल्याएर उम्मेदवारी दिने अडान लिएका जोशीलाई बाम गठबन्धनले रामचन्द्र पौडेललाई हराउन प्रयोग गरेको आशंका कतिपय नेताको छ । यसअघि ७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि पार्टीले शंकर भण्डारीलाई उम्मेदवार बनाएपछि आफुले टिकट नपाएको निहुँमा जोशीले एमालेका उम्मेदवारलाई भोट माग्दै हिँडेका थिए ।