कात्तिक १२,काठमाण्डौ । नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले निर्वाचन अपरिहार्य भएको बताएका छन् । अदालती प्रक्रियाले केही आशंका उब्जिए पनि चुनावको मिति कुनै पनि हालतमा सार्न नहुने तर्क पाण्डेको छ । “मतपत्र २ वटा आवश्यक परे पनि निर्वाचन आयोग सक्षम छ । चुनाव गराउन सक्छ ।” पाण्डेले भने ।
आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कर कार्यक्रममा बेल्दै निर्वाचनको मिति जसले सार्छ उसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पाण्डेले दिए । अदृश्य शक्तिले चुनाव सार्ने प्रयास गरेको आशंका गर्दै पाण्डेले त्यस्ता प्रयास सफल नहुने बताए ।
“जनताले चाहेको चुनाव कसैले रोकेर रोकिदैन ।” पाण्डेको भनाई छ ।
राष्ट्रको आवश्यकता अनुसार वाम गठबन्धन गरिएको भन्दै पाण्डेले वाम तालमेलले एमाले र माओवादीलाई दुई तिहाई बहुमत प्राप्त हुने दाबी गरे । उनले साम्यवाद र एकतन्त्रिय शाषन लाद्न खोजेको भन्ने आरोपको खण्डन गरेका छन् । अस्थिर सरकारको विकल्पका लागि दुई दल एक भएको भन्दै पाण्डेले अनावश्यक भ्रम छर्ने काम नगर्ने आग्रह गरे ।
एमालेलाई मधेशविरोधी र संविधान संशोधन विरोधीको रुपमा आरोप लगाइएकोप्रति असन्तुष्टी जनाउँदै पाण्डेले एमाले मधेशी जनताको हितका लागि जे पनि गर्न तयार रहेको बताए । केपी ओली नेतृत्वको सरकारले मधेशमैत्री बजेट ल्याएको उदाहरण दिदै पाण्डेले राजपाले भनेजस्तो गरी संविधान संशोधन गर्न भने नसकिने स्पष्ट पारे ।
मंसिर अन्तिम साता वाम गठबन्धनले बहुमतको सरकार बनाउने दाबी पाण्डेको छ ।




प्रतिक्रिया