दलहरु समानुपातिक उम्मेदवारको बन्द सुचिमा नाम राख्दै काट्दै थप्दै, “को इन को आउट ?”


कात्तिक १२, काठमाण्डौ । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधीसभाको चुनावका लागि समानुपातिक उम्मेदवारको सूचि बुझाउने अन्तिम दिन सबैजसो राजनीतिक दलहरुको दौडधुप तिब्र रह्यो । अहिले सबै दलहरु समानुपातिक उम्मेदवारको सूचि बोकेर निर्वाचन आयोग पुगेका छन् । उम्मेदवारको अन्तिम नामावली तयार पार्न निकै सकस भएपछि दलहरु दिनभर उम्मेदवारको नाम राख्दै हटाउँदै राख्दै गर्न बाध्य भए ।

आकांक्षी धेरै भएपछि दलहरुलाई उम्मेदवारको सूचि तयार पार्न निकै हम्मे हम्मे भएको थियो ।
उम्मेदवारको सुचि तयार पार्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेपाली कांग्रेसको बैठकमा रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवा पक्षधरबिचमा आफ्ना मान्छेलाई सूचिमा राख्ने विषयमा विवाद नै सृजना भएको थियो ।

अन्तिम नामावली तयार पार्ने विषयमा विवाद बढेपछि कांग्रेसको छलफल नै केहीबेर स्थगित भएको थियो ।
यसअघि समानुपातिक सुचिमा राखिएका भनिएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम अन्तिममा आएर हटाइएको छ । आफुले झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष चुनाव लड्न पाउनुपर्ने दाबी पेश गर्दै आएका सिटौलालाई समानुपातिक सूचिबाट हटाइएको हो ।

नेकपा एमाले र माओवादीले पनि दिनभरको रस्साकस्सीपछि समानुपातिक उम्मेदवारको सूचि तयार पारे ।
दुवै दलले पनि तछाँडमछाडका बिच धेरैको नाम राख्दै हटाउँदै राख्दै गर्नुपरेको थियो ।

एमालेले केशव बडालको नाम पहिला नराखे पनि अहिले पुनः राखेको छ । त्यस्तै बाराका नेता मुकुन्द न्यौपानेको नाम पनि पछि थपिएको छ ।
त्यसैगरी माओवादीले रामबहादुर थापालाई पनि समानुपातिक सूचिमा राखेको छ । चितवनबाट प्रत्यक्ष चुनाव लड्ने भनिए पनि थापालाई अन्तिममा आएर समानुपातिकमा राखिएको हो । त्यसैगरी दिनानाथ शर्मालाई पनि समानुपातिकमा राखिएको छ ।

अन्य दलहरु पनि आजै समानुपातिकतर्फको उम्मेदवारको सूचि लिएर आयोग पुगेका छन् ।  आज निर्वाचन आयोगमा नै अड्डा जमाएर नाम काट्दै हटाउँदै राख्दै काट्दै गर्ने परिस्थिती देखिएको छ ।