पार्टी सभापतिलाई “मलाई अब सम्पर्क नगर्नुहोला” भनेपछि घेराबन्दीमा परे गोविन्दराज जोशी


-कमलमणि पोख्रेल

१२ कात्तिक, काठमाण्डौ । नेपाली कांग्रेसका तनहुँ जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय नेताहरुले नेता गोविन्दराज जोशीले पार्टी अनुशासनविपरित गतिविधि गरेको आरोप लगाउँदै खेद व्यक्त गरेको छ ।

मंसिर २१ गते हुने प्रतिनिधीसभा निर्वाचनमा तनहूँ क्षेत्र नम्बर १ बाट टिकट पाउनपर्ने अडान लिदै आएका जोशीले पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै कांग्रेसको जिल्ला समिति तनहुँसहित केन्द्रियसदस्यहरुले जोशीलाई सचेत गराउँदै विज्ञप्ती निकालेका हुन् ।

“नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले विभिन्न दबाबमुलक गतिविधि गर्नुभएको सन्दर्भमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालाई रोहबरमा राखी कात्तिक ११ गते वालुवाटारमा गोविन्दराज जोशीलाई बोलाई विविध कारण देखाई प्रतिनिधिसभातर्फ सिट सुरक्षित हुने गरी समानुपातिकमा बस्न आग्रह गरिएकोमा जोशीले आफुलाई टिकट दिएमा रुख चिन्ह लिइ चुनाव लड्छु नदिए आफ्नै चिन्ह लिएर प्रत्यक्षतर्फ लड्छु, यस विषयमा मलाई अब सम्पर्क नगर्नुहोला भनि धृष्टतापूर्वक अभिव्यक्ति दिएकोमा हामी तनहुँ जिल्लाका नेपाली कांग्रेसका निम्न लिखित केन्द्रिय सदस्य, निवर्तमान संसद, जिल्ला पदाधिकारी, पूर्व पदाधिकारी, क्षेत्रीय सभापति उक्त अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछाँै ।” विज्ञप्तीमा भनिएको छ ।

पार्टी केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई र प्रदीप पौडेल सहितले जारी गरेको वक्तव्यमा जोशीको व्यवहारप्रति खेद व्यक्त गरिएको छ । उनको यो हर्कतको पछि नलागी लोकतन्त्रमाथि प्रहार हुन लागेको यो गम्भीर घडीमा काँग्रेसका आधिकारिक उम्मेदवार माथि मत दिन उनीहरुले सम्पूर्ण मतदातालाई आग्रह पनि गरेका छन् ।

विज्ञप्तीमा हस्ताक्षर गर्नेमा ध्रुव वाग्ले, रामचन्द्र पोखरेल, रघुनाथ पौडेल, झलबहादुर आले, जीतप्रकास आले, लक्ष्मी आचार्य, रेशम गुरुङ, किशान गुरुङ, राजेन्द्र श्रेष्ठ, विश्व वास्तोला, केशबहादुर सुनार र बैकुण्ठ न्यौपाने छन् ।